काठमाडौं : नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत चयन भएका छन्।
बेनीमा बुधबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनबाट केन्द्रीय सभापति शेरबहादुर देउवा निकट गर्बुजा सर्वसम्मत चयन भएका हुन् । सभापति पदमा गर्बुजाको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।
गर्बुजा यसअघिको कार्यसमितिका पनि सभापति थिए । छैटौं जिल्ला अधिवेशनमा नेत्रबहादुर महतसँग चुनाव लडेका गर्बुजा दोस्रो पटक सर्वसम्मत नेतृत्व दोहरिइने अवसर पाएका हुन्। योसँगै १४ जिल्लामा काँग्रेसको नयाँ नेतृत्वको चयन भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल चुनिएका छन्। यद्यपि, रोका र न्यौपाने आफू निकट रहेको देउवा पक्षको दाबी छ।
देउवा समूहबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ जिल्ला सभापति चुनिएका छन्।




Facebook Comments