काठमाडौं । चीनका सशस्त्र बलहरूले ताइवानका महत्त्वपूर्ण बन्दरगाह र विमानस्थललाई नाकाबन्दी गर्न सक्ने ताइवानको रक्षा मन्त्रालयले मंगलवार जनाएको छ । चीनबाट गम्भीर सैन्य खतरा आइलागेको भन्दै ताइवानले यो पछिल्लो मूल्यांकन गरेको हो ।
ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउनका लागि चीनले बलप्रयोग समेत गर्न सकिने बताउँदै आएको छ । उसले ताइवान नजिक सैन्य गतिविधि पनि बढाउँदै लगेको छ । ताइवानको एयर डिफेन्स जोनमा लगातार युद्धविमानहरू उडाइरहेको छ ।
दुई दुई वर्षमा सार्वजनिक गर्ने प्रतिवेदनमा ताइवानको रक्षा मन्त्रालयले चीनबाट ग्रे जोन वारफेयर शुरू गरिएको जनाएको छ । पोहोर सालको सेप्टेम्बर महिनादेखि यस वर्षको अगस्टसम्म चिनियाँ युद्धविमानहरूले ५५४ पटक ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा प्रवेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
ताइवानलाई थकाएर आत्मसमर्पण गर्न लगाउने नीति चीनले अपनाएको सैन्य विश्लेषकहरू बताउँछन् । यसैबीच चिनियाँ जनमुक्ति सेनाले आफ्ना सुरक्षाबललाई सन् २०३५ सम्ममा पूर्ण आधुनिकीकरण गर्ने र ताइवानविरुद्धको सम्भावित कारवाहीमा सर्वोच्चता हासिल गर्ने लक्ष्य लिएको छ ।




Facebook Comments