फलदायी छलफल भयो : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। उनीहरूबीच मंगलबार स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता भएको हो।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा भाग लिन पुगेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले भेटवार्ता गरेका हुन्।

उनीहरूबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ । त्यसैगरी जलवायु, कोभिड-१९ बारे पनि छलफल भएको छ । त्यस्तै कोरोना महामारीपछि कसरी फड्को मार्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीले भेटमा भएको छलफलका विषयमा सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवासँग भारत-नेपाल मित्रताका धेरै पक्षहरूमा फलदायी छलफल भयो। विश्वव्यापी महामारी विरुद्ध लड्न र दिगो विकास प्रवर्द्धनसँग सम्बन्धित विषयहरू हाम्रो द्विपक्षीय मित्रताका महत्वपूर्ण आयामहरू हुन्।’

Facebook Comments