कर्णालीमा माओवादीले सरकार नछाड्ने, समर्थन फिर्ता लिने कांग्रेसको चेतावनी

काठमाडौं- नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकार नछाड्ने अडान लिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यसअघि आधा कार्यकाल नेपाली कांग्रेसलाई छोड्ने सहमति गरेका थिए।

त्यहीअनुसार दशैंलगत्तैदेखि उनले मुख्यमन्त्रीबाट राजीनामा दिने र कांग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने तारतम्य मिलाउन थालिएको थियो। तर, माओवादीले गठबन्धन सरकार निर्माण भएपछि पुनः नयाँ तरिकाले सहमति गरेर जानुपर्ने भन्दै सरकार छाड्न आनाकानी गरेको हो। नेपाली कांग्रेसले भने मुख्यमन्त्रीले राजीनामा नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।

नेपाली कांग्रेस कर्णाली प्रदेश सभाका सचेतक हिमबहादुर शाहीले मुख्यमन्त्रीले राजीनामा नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए।

‘हामीले मुख्यमन्त्री शाहीजीसँग‍ आधा कार्यकाल, कात्तिक १५ गते छाड्नेगरी लिखित सहमति गरेका थियौं’, उनले भने, ‘यदी माओवादीले कात्तिक १५ गतेभित्र सत्ता हस्तान्तरण नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं।’

माओवादी सहमतिबाट पछाडि हटेमा मन्त्रीबाट राजीनामा दिएर समर्थन फिर्ता लिने चेतावनी शाहीले दिए। गत शनिबार माओवादी केन्द्रको कर्णाली प्रदेशको विस्तारित बैठकले तत्काल प्रदेश सरकार नछाड्ने निर्णय गरेको प्रदेश सचिव रामदीप आचार्यले बताए।

‘हामीले यसअघि आधा कार्यकाल कांग्रेसलाई छाड्नेगरी भद्र सहमति गरेका थियौं। तत्कालीन केपी शर्मा ओली सरकार बर्हिगमन भएपछि गठबन्धनबाट शेरबहादुर देउवा नेतृत्वको सरकार बन्यो। त्यहाँ गठबन्धनमा नयाँ तरिकाले सहमति हुने छ’, आचार्यले भने, ‘तत्काल प्रदेश सरकारबाट हतारमा राजीनामा दिने भन्दा पनि संघको भागवण्डाका आधारमा प्रदेश सरकार रहने/नरहने निर्णय हुने छ।’

माओवादीको कर्णाली प्रदेश कमिटी अन्य प्रदेश सरकार छाडेर भएपनि कर्णाली सरकार जोगाउने पक्षमा उभिएको छ।

सत्ता गठबन्धनमा सात प्रदेशमध्ये जनता समाजवादी पार्टी (जसपा)लाई एउटा प्रदेशमा मुख्यमन्त्री दिने सहमति भएको थियो। अन्य ६ प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले २/२ मुख्यमन्त्री लिने सहमति भएको थियो। तर, संघमा गरेको निर्णय प्रदेशले उल्लंघन गर्दै जान थालेपछि त्यो सहमतिसमेत कार्यान्वयन हुन नसकेको हो।

यसो हुँदा कर्णाली प्रदेश सरकार रहने/नरहने केन्द्रको गठबन्धनमा भर पर्ने देखिएको छ। मुख्यमन्त्री शाही माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णय पर्खेर बसेका छन्। प्रचण्डले राजीनामा दिन निर्देशन दिएमा मात्रै पद छाड्ने पक्षमा मुख्यमन्त्री शाही पुगेका छन्। तर, कांग्रेसले भने सरकार छाड्न निरन्तर दबाब दिइरहेको छ।

प्रदेश सभा ४० सदस्यीय भएपनि हाल ३५ जना मात्रै सांसद कायम छन्। जसमा एमालेका १३, माओवादी केन्द्र १२, कांग्रेस ६, एकीकृत समाजवादी ३ र राप्रपाका एक जना छन्। हाल सरकारको नेतृत्व माओवादीका नेता शाहीले गरेका छन् भने सरकारमा कांग्रेस र एकीकृत समाजवादीको सहभागिता रहेको छ। साभार नेपाल लाइभबाट

Facebook Comments