मुख्यमन्त्री नमूना कृषि गाउँमा ‘हाइटेक नर्सरी’ निर्माण

तनहुँ । मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–९ भानुमतीस्थित जौपानीमा सिंचाइ प्रविधिसहितको ‘हाइटेक नर्सरी’ निर्माण थालिएको छ ।

इजरायलले विकास गरेको प्रविधिलाई कृषि क्षेत्रमा नयाँ आयाम दिन चितवनको पिठुवाबाट आएका प्राविधिकसहितको ६ जनाको टोलीले ‘हाइटेक नर्सरी’ बनाउन भिमाद–९ का वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिए।

गाउँमा नै सुरक्षित क्वारेन्टिन बनाएर राखी सामाजिक दूरी कायम गरेर चार टनेल निर्माण अघि बढाइएको छ । मुख्यमन्त्री कार्यक्रम सफल बनाउन मुख्यमन्त्री नमूना वातावरणमैत्री नमुना कृषक समूह गठन गरी उक्त समूहमा तीन सय स्थानीयबासीलाई आबद्ध गराइएको समूहका सदस्य शिवकुमार आलेले बताए ।

सिभिल इञ्जिनीयरिङ जनशक्तिमार्फत नेपालमा हालसम्म आठदश कम्पनीले हाइटेक टनेल बनाउने गरेका छन् । गाउँको साना किसान कृषक समूहमार्फत आफूले इजरायलमा एक वर्ष हाइटेक हाउस निर्माणसम्बन्धी तालीम लिएको आलेले बताए ।

बाह्य जिल्लाबाट भित्रिने बिरुवालाई न्यूनीकरण गर्दै हावापानी सुहाउँदो उन्नत जातका फलफूलका बिरुवा उत्पादन गर्नका लागि आधुनिक टनेल निर्माण गर्न थालिएको वडाध्यक्ष थापाले जानकारी दिए।

सुन्तला, आँप, कागती, रुख कटहर,नास्पाती, अम्बालगायतका बिजु बिरुवा उत्पादन गर्न करीव सात रोपनी क्षेत्रफलमा टनेल निर्माण अघि बढाइएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँ विनियोजन भइसकेको छ ।

एक टनेलबाट आठ हजारका दरले चार टनेलबाट एकै पटक ३२ हजार बिरुवा उत्पादन गर्न सकिने मुख्यमन्त्री नमूना वातावरणमैत्री नमूना कृषक समूहका अध्यक्ष डोलबहादुर गुरुङले बताए। गाउँका बेरोजगार युवालाई रोजगारीको व्यवस्था गरी यहाँको हावापानी सुहाउँदो बिरुवा उत्पादन गरेर बिक्रीवितरण गर्ने योजना रहेको बताइएको छ । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.