१५२ औं गान्धी जयन्तीको अवसरमा कला प्रदर्शनीको उद्घाटनदेखि रक्तदान कार्यक्रमसम्म

काठमाडौँ । १५२ औं गान्धी जयन्तीको अवसरमा कला प्रदर्शनीको उद्घाटनदेखि रक्तदानसम्मका कार्यक्रमहरु सम्पन्न भएको छ । गान्धी जयन्तीको अवसरमा कार्यवाहक राजदूत नामग्य खम्पाले नेपाल आर्ट काउन्सिलमा आयोजित ‘असल जगतका लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेकी छन् ।

भारतीय राजदूतावास बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा शिभाता लभ फाउन्डेसनले सो कला प्रदर्शनीको आयोजना गरेको हो । उक्त प्रदर्शनी सर्वसाधारणका लागि असोज १७ देखि २२ गते सम्म खुला रहने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी सोही अवसरमा नेसनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले भारतीय राजदूतावासको सहयोगमा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा “स्तन तथा पाठेघर क्यान्सर जाँच एवम् जनचेतना कार्यक्रम” को आयोजना गरिएको हो भने भारतीय राजदूतावासकै सहयोगमा भारतीय नागरिक संघ नेपाल (आईक्यान) ले सोही भवनमा रक्तदान शिविरको आयोजना गरेको थियो । उक्त शिविरमा दूतावासका अधिकारी, भारतीय समुदाय तथा नेपालमा रहेका भारतका मित्रहरुको सहभागीता थियो ।

त्यस्तै गान्धी जयन्तीको अवसरमा नेपाल–भारत पुस्तकालयमा पनि एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । पुस्तकालयमा महात्मा गान्धीको जीवन एवम् सिद्धान्तमा आधारित एक चलचित्र प्रदर्शन गर्नुका साथै महात्मा गान्धीको विषयमा हाजिरीजवाफ प्रतियोगिताको पनि भएको थियो ।

त्यस्तै बिहान भारतीय दुतावास प्राङ्गणमा स्थित गान्धीको शालिकमा दूतावासका अधिकारीहरू माल्यार्पण गरी सम्मान प्रकट गरेका थिए । प्रगतिशील भारतको ७५ औँ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको गौरवशाली इतिहासको सम्झना गर्न भारत सरकारले अघि सारेको ‘आजादी का महोत्सव’ को एक कार्यक्रमको रुपमा गान्धी जयन्ती मनाइएको हो ।

Facebook Comments