घरमै पुगेर गर्भवतीको उद्धार

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाका नगरउपप्रमुख कविता विष्टसहितको टोलीले घरमै पुगेर गर्भवती महिलाको उद्धार गरेको छ । सोही नगरपालिका वडा नं ९ मार्तडीकी २२ वर्षीया पवित्रा सार्कीको घरमै नगरपालिकाको एम्बुलेन्स लिएर उद्धार गरिएको हो ।

जिल्ला अस्पतालमा शुक्रबार जाँच गर्न गएकी दलित महिला सार्कीलाई जिल्लामा सम्भव नभएपछि धनगढी पठाएपछि आर्थिक अभावका कारण घर लगिएको थियो । सार्कीको परिवारसँग धनगढी जान एम्बुलेन्सको भाडा तिर्न आर्र्थिक नभएपछि घर लगेको बताइएको छ ।

नगरपालिकाकै सहयोगमा गर्भवती सार्कीको एम्बुलेन्समार्फत धनगढी पठाइएको वडा नं ८ का वडाध्यक्ष प्रकाश रावलले बताए । उन्ले सार्कीले योभन्दा पहिला दुईपटक शल्यक्रिया गरेर बच्चा जन्माएकाले जिल्ला अस्पतालले अन्यत्र सिफारिस गरेपछि आर्थिक अभावमा घरमा लगिएको सञ्चारमाध्यममा समाचार आएपछि उद्धार गरिएको वडाध्यक्ष रावलले बताए।

दुईपटक भन्दाबढी शल्यक्रिया गर्दा निकै जटिल हुने भएकाले सेती प्रादेशिक अस्पताल धनगढीमा पठाएको जिल्ला अस्पतालका चिकित्सक शेरबहादुर साउदले बताए।

उहाँले तेस्रोपटक शल्यक्रिया गर्दा रगतको व्यवस्थापन त्यस्तै परे पाठेघर नै फाल्नुपर्ने अवस्था हुनसक्ने भएकाले जिल्लामा बच्चा जन्माउन सम्भव नभएपछि सिफारिस गरेको डा साउदले बताउनुभयो । सघन उपचार कक्ष व्यवस्थापन भएको ठाउँमा मात्र सुत्केरी गराउन डा साउदले सुझाव दिए। रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.