स्वेच्छाचारी गिरफ्तारी बन्द गर्न आग्रह

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतबाट पटक पटक भएका आदेश विपरीत स्वेच्छाचारीरुपमा व्यक्तिलाई पटक पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गरीे मानव अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी हलेसी तुवाचुङ नगरपालिका–२ खोटाङ बस्ने चक्रबहादुर खत्रीलाई स्वेच्छाचारीरुपमा पटक पटक पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण जनाउँदै उक्त आग्रह गरिएको हो ।

नेपालको संवैधानिक एवं कानूनी व्यवस्था तथा सर्वोच्च अदालतबाट पटक पटक भएका आदेश विपरीत स्वेच्छाचारीरुपमा व्यक्तिलाई पटक पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गरी व्यक्तिको मानव अधिकारको सम्मान र संरक्षण तथा कानूनी शासनको प्रत्याभूत गर्न आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

खत्रीको अवस्था सम्बन्धमा परिवारलाई जानकारीसमेत नदिई स्थिति अज्ञात पार्ने गरिएको, निजउपर अपमानजनक व्यवहार गरिएको तथा सर्वोच्च अदालतबाट पटक पटक जारी भएका आदेशको बेवास्ता गरिएका सम्बन्धमा २४ घण्टाभित्र जवाफ पठाउन आयोगले गृहमन्त्रालयलाई पत्राचारसमेत गरेको छ ।

खत्रीलाई २०७६ वैशाख २ गते पहिलोपटक पक्राउ गरी जिल्ला कारागार खोटाङमा राखिएकामा सर्वोच्च अदालतबाट भएका आदेशविपरीत २०७६ चैत २८ गते, २०७७ वैशाख १३ गते, २०७७ वैशाख २८ गते, २०७७ जेठ २ गते र २०७७ जेठ १५ गते छैटौँपटक पक्राउ गरी हालको लकडाउनको अवस्थामा खोटाङ, उदयपुर, सोलुखुम्बु हुँदै २०७७ जेठ १६ गते सिरहा पु¥याइएको पाइएको आयोगले जनाएको छ ।

सरकार, स्थानीय प्रशासन र प्रहरीबाट योजनाबद्धरुपमा भएका यस किसिमका स्वेच्छाचारितापूर्ण गिरफ्तारीबाट नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक एवं संवैधानिक हक र मुलुकी फौज्दारी अपराध संहिताले प्रत्याभूत गरेको कानूनी हक विपरीत कार्य भएको देखिएको आयोगले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.