६ सय वटा चाइनिज ब्राण्डमाथि अमेजनले लगायो प्रतिबन्ध

काठमाडौं । ६ सय वटा चाइनिज ब्राण्डमाथि इकमर्स कम्पनी अमेजनले प्रतिबन्ध लगाएको छ । द वालस्ट्रिट जर्नलका अनुसार ती चिनियाँ ब्राण्डहरुले ग्राहकहरुलाई उनीहरुको सामानका बारेमा राम्रो राम्रो टिप्पणी गर्न उक्साएर त्यसको बदलामा अमेजनको गिफ्ट कार्ड उपहार दिने गरेका थिए ।

त्यसरी आफ्ना प्रडक्टमा झुठा रिभ्यू लेखाएर अन्य ग्राहकहरुलाई गुमराहमा राख्ने चिनिया ब्राण्डहरुको कार्य अक्षम्य रहेको हुनाले प्रतिबन्ध लगाएर कारबाही गरिएको अमेजनले जनाएको छ । आफ्नो नीतिको उल्लंघन गर्ने जो कोहीमाथि प्रतिबन्ध लगाइने र आवश्यक परेमा कानुनी कारबाहीमा समेत जाने अमेजनले जनाएको छ ।

६०० वटा चिनियाँ ब्राण्डमाथि प्रतिबन्ध लगाउने पछिल्लो कदम चीनको विरुद्धमा नभएको प्रष्ट पार्दै अमेजनले संसारभर नै आफूले यस्तो नीति लागू गरिरहेको र गलत गर्ने जो कोही ब्राण्डलाई सजायँ दिने बताएको छ ।

अमेजनको प्रतिबन्ध खेप्न पुगेका सबै ६०० वटा ब्राण्डको नाम सार्वजनिक गरिएको छैन । तीमध्ये केही चर्चित नाम चाहिं Aukey Mpow, RavPower तथा VAVA हुन् ।

चिनियाँ पत्रिका साउथ चाइना मर्निङ पोस्टले प्रकाशित गरेको समाचार अनुसार अमेजनको प्रतिबन्ध पछि धेरै चिनियाँ कम्पनीहरुले अब इबे तथा अली एक्सप्रेस लगायतका अन्य इ कमर्श प्लाटर्फममा लगानी गर्नेछन् ।

एजेन्सीको सहयोगमा

Facebook Comments