विवाह गर्नको लागि किन गुण मिल्नुपर्छ भनियो ? ज्योतिष भण्डारीको यस्तो जवाफ

काठमाडौं । विवाहलाई पारिवारिक मिलनको रूपमा लिईन्छ। अचेल यसलाई सम्झौताको रुपमा समेत हेर्ने गरिन्छ । यसको कारण के हो भने एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता चाहिन्छ । सम्झौताबिना विवाह टिक्दैन । अहिले केही व्यक्तिलाई तोकिएअनुसार साक्षी राखेर २० वर्ष उमेर पुगेका बर र बधुको कानुनी विवाह गर्न सकिने कानुनी व्यवस्था पनि छ।

मनुस्मृति लगाएत अन्य शास्त्रमा विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ । आफूले चाहेर मात्र नहुने । देखेको नपाइने, लेखेकै हुनुपर्ने तथा विवाहका लागि सूर्य भगवानले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ । स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ । हाम्रो समाजमा विभिन्न जातजाति, धर्म र सम्प्रदायअनुसार विवाह कर्ममा केही फरकफरक संस्कारहरू पाइन्छन् तर सामान्यतया हिन्दूधर्ममा वा ज्योतिषशास्त्रमा विवाह गर्नको लागि वर र कन्याको कति गुण हुनुपर्दछ यसै बिषयमा यहाँ चर्चा गरिएको छ ।

बर र बधुको जन्म समय अनुसार तयार भएको चिनामा वर्णको १, वश्यको २, ताराको ३, योनिको ४, मैत्रीको ५, गणको ६, भकूटको ७ र नाडीको ८ गरी जम्मा ३६ गुण मध्ये १८ भन्दा धेरै प्रप्तांक आएमा ज्योतिषीको परामर्शमा विवाह गर्ने निश्चय हुन्छ। गुणका अतिरिक्त केटाकेटीको मांगलिक स्थिति समेत हेर्नुपर्ने हुन्छ । लग्नकुण्डलीको १, ४, ७, ८ तथा १२ स्थानमा मंगल ग्रह विराजमान भए मांगलिक हुने र मांगलिक केटाको मांलिक केटीसँगमात्र विवाह गर्नुपर्ने शास्त्रीय मत रहेको छ ।

अन्यथा वैवाहिक सुखमा कमी आउने शास्त्रीय मत रहेकाले कुम्भ विवाह, कलश विवाह, तुलसी विवाह आदि विधिले दोष निवारण गरी विवाह गर्ने गरिन्छ । तरपनि मांगलिक भङ्ग भएको अवस्थामा भने मांगलिक नहुने ज्योतिष शास्त्रमा लेखिएको छ।

बर र बधुको राशि गणना गर्दा बरकोबाट बधुको राशि ८, १२ भयो भने पनि विवाहको राम्रो मानिन्न । जस्तै बरको राशि मेष रहेको छ भने मेषबाट ८ गन्दै जादा वृश्चिक राशि ८ पर्न जान्छ । त्यस्तै मेष राशिबाट बधुको १२ औँ राशि मिन राशि हुन्छ। यानिकी आफ्नो राशिबाट गन्दै जादा ८ औँ राशि र १२ राशिको व्यक्तिसँग भरसक विवाह नगर्नु राम्रो मानिन्छ । यस्तो अवस्थामा विवाह गरेमा ऋण, रोग तथा संकटले जीवनमा प्रभाव पार्ने शास्त्रमा उल्लेख गरिएको छ ।

Facebook Comments