काठमाडौँ । चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै सांकितिक रुपमा विरोध गरिएको संघले जनाएको छ । प्रदर्शनमा उत्रिएकाहरुले नेपालको सीमा रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदर्शनमा उत्रिएकाहरुले चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिलर सार्न पाइँदैन लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए । संघका अध्यक्ष रञ्जित कुमार सिंहले चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै खबरदारी गरिएको बताए । संघले नेपालको सीमा रक्षाका लागि निरन्तर खवरदारी गर्ने जनाएको छ ।
त्यस्तै चिनियाँहरूले भवन बनाएको ठाउँभन्दा पर ग्यापुदोचा भन्ने ठाउँको पानी ढलो भएदेखि यता नेपाल उता चीन रहेकोमा उनीहरूले अतिक्रमण गरी भवनहरू बनाउँदा पनि तत्कालीन केपी ओली सरकार सीमा मिचिएको होइन भनेर बसेकामा नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङ गुनासो गर्छन् । वडा अध्यक्ष पाल्जोर तामाङले चिनियाँहरूले करिब डेढ किलोमिटर वर ललुङजोङको नेपाली भूमीमा आएर भवनहरू बनाएको बताएका थिए ।
नाम्खाका उपाध्यक्ष पेमा तामाङले पनि भवनहरू नेपाली भूमिमै बनेको पाइएको बताए । भवनहरू नेपाली भूमिमा रहे पनि सरकारले हतारोमा सो भूमि चीनकै स्वामित्वमा रहेको बताउँदा स्थानीयहरू भने चिन्तितसँगै आक्रोशित भएको उनले बताएका थिए ।
यसअघि हुम्लाको मिचिएको विषय देउवा सरकारको कार्यक्रममा समेट्न माओवादी केन्द्रले असहमति जनाइसकेपछि सो विषयलाई घुमाएर लेख्नुपरेको कार्यदलका एक सदस्यले बताए। माओवादीले हुम्लाको लिमीमा अतिक्रमण भएको कुरालाई कार्यक्रममा समेट्न असहमति जनाएपछि कार्यदलमा केही समय तनाव उत्पन्न भएको थियो।




Facebook Comments