बिट क्वाइन प्रकरणमा पाँच जना दोषी, पाँच जनाले भने सफाइ पाए

काठमाडौं । प्रहरीको जाहेरीले नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुर (बिट क्वाइन प्रकरण)मा १० जनाविरुद्ध मुद्दा दायर भएकोमा पाँच जना दोषी ठहर भएका छन् भने पाँच जनाले सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश चाणकमणि अर्यालको इजलासले बुधबार सो मुद्दामा मिङमार तामाङ, दमन बस्नेत, संजय खनाल, विश्वविक्रम राई र सौगातकुमार बस्नेतलाई सफाई दिएको हो । उनीहरुले अभियोग दाबी बमोजिमको कसुर गरेको पुष्टि नभएको भन्दै इजलासले सफाइ दिएको छ ।

प्रतिवादीहरु प्रशान्त प्रताप शाह, बिन्दु भन्ने बिन्दा ढकाल, जीपी भन्ने ज्ञानप्रसाद पौडेल, मनिषकुमार गिरी र माधव खनाललाई भने नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ बमोजिमको कसुर गरेको ठहर इजलासले गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ बमोजिम कसुर गर्ने प्रतिवादीहरुलाई सोही ऐनको दफा ९६ (१) मा उल्लेखित कानुनी व्यवस्थामा सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने देखिएको इजलासले उल्लेख गरेको छ ।

यस्तो सजाय गर्दा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ९ बमोजिम बेग्लै सुनुवाई गर्नुपर्ने भन्दै इजलासले यसका लागि सोही ऐनको दफा १२ बमोजिमको प्रतिवेदन ७ दिनभित्र पेस गर्न वादी तथा प्रतिवादीका कानुन व्यवसायीलाई सूचना दिइ सजाय निर्धारणका लागि नियमानुसार पेस गर्न इजलासले आदेश दिएको छ । सो मुद्दामा प्रतिवादीका तर्फबाट शार्दुल थापाले बहस गरेका थिए । शार्दुल वरिष्ठ अधिवक्ता शम्भु थापाका छोरा हुन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.