तालिबानद्वारा पंजशीरलाई तीन तिरबाट घेरेको दाबी

अफगानिस्तान । अफगानिस्तानको पंजशीर घाटीको विषयमा तालिबान र उसको विरोधी शक्तिले भिन्न भिन्न दाबी गरेका छन् । तालिबानले पंजशीर घाटीलाई घेरेको जानकारी दिएको छ भने विरोधी शक्तिले उसलाई उक्त इलाकाबाट टाढै बस्न चेतावनी दिएको छ ।

अफगानिस्तानको पूर्व सरकारको समर्थन गर्ने सेना र तालिबानले पंजशीर घाटीको विषयमा कुराकानी जारी रहेको जानकारी पनि दिएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले पंजशीर घाटीलाई तीन तिरबाट घेरिएको जानकारी दिँदै ट्वीटरमा लेखे, ‘यो विषयलाई शान्ति पूर्वक सुल्झाउन चाहन्छौं ।’

तालिबानको राजधानी काबुलसमेत अफगानिस्तानका धेरैजसो हिस्सामा कब्जा जमाइसकेको छ तर पंजशीर घाटी अहिलेसम्म तालिबानको पहुँचबाट टाढै रहेको छ । यद्यपि, सोमबार तालिबान बाहिर पनि तालिबानको विरोध भएको रिपोर्ट भेटिएको छ ।

समाचार एजेन्सी एएफपीले तालिबानको तर्फबाट गरिएको दाबीबारे जानकारी दिँदै तालिबानका लडाकू पंजशीरमा अघि बढिरहेको बताएको छ । तालिबानका अनुसार उनका लडाकूले पंजशीर घाटी घेरेका छन् ।

बीबीसी उर्दू सेवाले तालिबान स्रोतलाई उद्धृत गर्दै तालिबानी कमान्डर कारी फसीहुद्दीन यो लडाईंको नेतृत्व गरिरहेको बताएको छ । उता तालिबानविरुद्ध एक प्रमुख शक्तिको रुपमा हेरिएका पूर्व सरकारका उप–राष्ट्रपति अमरुल्ला सालेहले तालिबान पंजशीर घाटीमा प्रवेश गर्ने मार्गमा आफ्ना लडाकूलाई जम्मा गर्ने कोसिस गरिरहेको बताए । उनले तालिबानलाई उनका लडाकू उक्त इलाकाबाट बच्नुपर्ने चेतावनी दिएका छन् ।

घेराबन्दी र कुराकानीः
तालिबानका एक प्रवक्ताले काबुलमा गरेको दाबी अनुसार उनको पंजशीर घाटीका मानिसहरुसँग कुराकानी भइरहेको छ । प्रवक्ताले चाँडै नै पंजशीर घाटीमाथि शान्तिपूर्ण तरिकाले तालिबानको कब्जा हुने पनि दाबी गरे ।

यस्तै, समाचार एजेन्सी एएफपीले अफगानिस्तानका पूर्व सरकारको सेनाका एक प्रवक्तालाई उद्धृत गर्दै सेनाका अधिकारी पंजशीरमा तालिबानसँग ‘लामो संघर्षका लागि तयार भएको तर तालिबानसँग छलफलको कोसिसमा पनि जुटेको ’ बताएका छन् ।

तालिबानले बगलान प्रान्तको बानूसमेत तीन जिल्लामा आफ्नो कब्जा भएको पनि दाबी गरेको छ । अर्कोतर्फ विरोधी शक्तिले तीनसय तालिबानी लडाकूको हत्या गरेको दाबी गरेको छ । तालिबानले यो दाबीलाई गलत बताउँछ ।

अन्तिम चुनौतीः
तालिबान र अन्य दुनियाँको सबैभन्दा बढी रुची अब पंजशीर घाटीमा छ । यो घाटी काबुलको उत्तरमा छ र हिंदुकुश पहाडले घेरिएको छ । यसलाई लामो समयदेखि तालिबान विरोधी शक्तिको केन्द्रको रुपमा हेर्ने गरिन्छ ।

अफगानिस्तानको भौगोलिक र सामरिक स्थितिको विषयमा राम्रो जानकारी राख्ने विशेषज्ञले आफ्नो पछिल्लो कार्यकालमा तालिबानले पंजशीर घाटीमा कब्जा गर्न नसकेपनि यसपटक उसलाई खासै गाह्रो नहुने दाबी गरेका छन् । तालिबानका लागि पंजशीर घाटीलाई घेर्नु नै पर्याप्त हुनेछ । तालबानको हालैको दाबीले यसैतर्फ इंगित गर्छ ।

यो घाटी अहमद वली मसूदको इलाका मानिन्छ । उनी अशमद शाह मसूदका छोरा हुन् । अहमद शाह मसूदको मृत्यु सन् २००१ मा भएको थियो । मृत्यु अघिसम्म अहमद शाह मसूदले पंजशीर घाटीमा आफ्नो प्रभुत्व स्थापित गरेका थिए । उनले सोभियत–अफगान युद्ध र तालिबानसँग गृहयुद्धका बेला यसलाई अभेद्य किला बनाइराखे ।

तालिबानले हालै जब काबुलसमेत अफगानिस्तानका विभिन्न इलाकालाई सहजै कब्जा गरे तर पंजशीर घाटी अहिलेसम्म उनीहरुको अधिकारमा आएको छैन ।

के भन्छन् विशेषज्ञ ?
पंजशीर घाटीको विषयमा विशेषज्ञ पनि आफ्नो धारणा व्यक्त गरिरहेका छन् । पेरिसको एक युनिभर्सिटीमा अफगान मामिलाका जानकारी जाइल्स डोरोनसोरोले समाचार एजेन्सी एएफपीसँग कुराकानी गर्दै भनेका छन् –

‘हाल पंजशीर घाटीको प्रतिरोधी मौखिक मात्रै छ । तालिबानले अहिलेसम्म पंजशीरमा प्रवेश हुने कोसिस गरेका छैनन् । ’

उनले दाबी गरे, ‘तालिबानले पंजशीरलाई घेराबन्दी मात्रै गरे पुग्छ, त्यहाँ प्रवेश गर्न आवश्यक नै छैन ।’ तालिबान हाल यो रणनीतिमा अघि बढिरहेको देखिएका छन् ।

यस्तै तालिबानका प्रवक्ता जेबिहुल्लाह मुजाहिदले एक बयान जारी गरेर बगलान प्रान्तका तीन जिल्ला बानू, पुल ए हिसार र सालाहमा आफ्नो कब्जा भइसकेको र अंदराबसमेत तीन थप जिल्लामा आफूहरु बलियो स्थितिमा भएको बताएको छ ।

उनले सालांग घाटीमा पनि ट्राफिक पुनः सुरु भएको दाबी गरेका छन् ।

Facebook Comments