भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे समिक्षा

काठमाडौँ । नेपाल-भारत नवौं परियोजना अनुगमन समिति (ओभरसाइट मेकानिजम)को बैठकले भारतको सहयोगमा सञ्चालित विभिन्न परियोजनाहरुको प्रगतिबारे समिक्षा गरेको छ ।

भारतीय राजदूत विनय मोहन क्वात्रा र परराष्ट्र सचिव भरतराज पौड्यालको सहअध्यक्षतामा सोमबार काठमाडौँमा बसेको बैठकले परियोजनाको प्रगतिबारे समिक्षा गरेको हो ।

बैठकमा विशेष गरी गोरखा र नुवाकोट जिल्लामा हाल निर्माणाधीन अवस्थामा रहेको तर छिट्टै निर्माण सम्पन्न हुन लागेका आवासको पुनर्निर्माण कार्यमा भइराखेको प्रगति, नेपालका तराई क्षेत्रमा निर्माण सम्पन्न भएका १३ वटा सडकहरु, भारत सरकारको सहुलियतपूर्ण ऋण अन्तर्गत सञ्चालित सडक र प्रसारण लाइन परियोजनाहरु र अरुण–तेस्रो परियोजनामा भइराखेको सन्तोषजनक प्रगति लगायत नेपालगञ्जमा सुरु गरिएको एकीकृत जाँच चौकीको निर्माण बारे चर्चा गरिएको थियो ।

परियोजनासँग सम्बन्धित विविध समस्याको निराकरण गर्न र परियोजना कार्यान्वयनलाई सहयोग पुर्‍याउन दुवै पक्षले नियमित समन्वयमार्फत ओभरसाइट मेकानिजमका निर्णयहरुमा अनुगमन गर्ने कुरामा सहमति जनाएका छन् ।

त्यसैगरी भारतले नेपाललाई उपलब्ध गराएको औषधी, चिकित्सकीय उपकरण, बेड, आइसियु, भेन्टिलेटर र खोप लगायतका कोभिड–१९ सँग सम्बन्धित सहकार्यको दुवै पक्षले सराहना गरेका छन् ।

बैठकले २०७७ भाद्र १ मा सम्पन्न भएको आठौं बैठक यता गरिएका द्विपक्षीय सहकार्य परियोजनाहरुको विस्तृत रुपमा समीक्षा गरेको हो। दुवै पक्षले विषयमा गहन छलफल गर्नुका साथै यी परियोजनाहरुको कार्यान्वयन प्रक्रियालाई तीव्रता दिनेमा सहमति जनाएका छन् ।

बैठकमा विभिन्न मन्त्रालय, विभाग र नेपाल सरकारका निकायहरुका प्रतिनिधि, भारतीय राजदूतावासका अधिकारी र परियोजनाको कार्यान्वयनमा संलग्न परामर्शदाता, ठेकेदार र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । भारतको सहयोगमा सञ्चालित विभिन्न परियोजना तथा पहलहरुको प्रगति अनुगमन गर्न उक्त समिति २०१६ मा गठन भएको हो ।

Facebook Comments