काबुलमा गोली चलेका बेला ५ घण्टा हिडेर विमानस्थल पुग्दा…

काठमाडौँ । विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तान संकटमा फसेको छ । सडकभरि तालिबानका विद्रोही सेना हतियारसहित तैनाथ छन् । तालिबान समूह राजधानी काबुलमा छिरेपछि सडक ठप्प बनेको छ । कतिपय ठाउँमा सवारी जाम बढेको छ ।

जाम बढेपछि त्रसित भएका मानिसहरुले गाडी छाडेर हिड्दै घर पुगेका छन् । उनीहरु आत्तिदै, दोड्दै, हतास मुद्रामा घर फर्किरहेका फोटो तथा भिडियो सामाजिक सञ्जालमा आइरहेका छन् । यसैक्रममा आफ्नो देश फर्किन अफगानिस्तान छाड्न लागेका विदेशी नागरिक भने ठूलो समस्यामा परेका छन् ।

उनीहरु घण्टौ लामो जाम, सडक बन्दलाई समेत छिचोलेर विमानस्थल पुग्न संघर्ष गरिरहेका छन् । अहिलेसम्म हतियारसहित काबुल छिरेको विद्रोही सेना र सरकारी सेनाबीच घोषित लडाँइ भएको छैन । त्यसैले जतिसक्दो चाँडो अफगानिस्तानबाट स्वदेश फर्किने नागरिक आत्तिदै विमानस्थलतिर लागेका छन् ।

राष्ट्रपति असरफ घानीले समेत देश छाडेपछि अफगानिस्तानमा संकट चुलिएको छ । यसअघि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न अफगान सरकार तयार रहेको समाचार आएपनि पछिल्लो समय यो विषय अनिश्चित बनेको छ ।

बीबीसीले राजधानी काबुलमा रहेका एक विदेशी युवा विद्रोही सेनाले गोली चलाइरहदा ५ घण्टा हिँडेर विमानस्थल पुग्न गरेको संघर्षको बारेमा छोटो रिर्पोट प्रकाशित गरेको छ । जुन यसप्रकार छः

२२ वर्षीय साहिद (नाम परिवर्तन) पाँच घन्टा पैदल हिँडेर काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । ‘हिँडेर आएकाले मलाई थकान महसुस भएको छ । मेरो खुट्टा एकदमै दुखेको छ,’ उनले बीबीसीसँग भने, ‘आउँदै गर्दा बाटामा मैले परम्परागत लुगा लगाएका मानिसहरू देखेँ । उनीहरूले अन्धधुन्धा हावामा गोली हानिरहेका थिए । यसले मलाई मेरा आमा बुबाबाट सुन्ने गरेको जिहादको सम्झना गरायो ।

शाहिद इस्तानबुलमा मास्टर डिग्री सुरु गर्न लागेका विद्यार्थी हुन् । अफगानिस्तानमा तालिबान विद्रोहीले आतंक मच्चाएपछि उनी आफ्नो पढाइ सुरु हुनुभन्दा पहिले नै आफ्नो परिवारसँग केही समय बिताउन काबुलबाट स्वदेश फर्किन लागेका हुन् ।

‘यहाँ कुनै भविष्य नदेखेकाले म घर जाँदैछु । म मेरो परिवारबारेमा सोच्दछु,’ उनले भने । (बीबीसीबाट)

Facebook Comments