चीनमा क्यानडाका व्यापारीलाई ११ वर्षको जेल सजाय

काठमाडौं । चीनको एक अदालतले क्यानडेली व्यवसायी माइकल स्पाभोरलाई ११ वर्षको जेल सजाय सुनाएको छ । उनी जासुसीको आरोपमा सन् २०१८ देखि चीनको हिरासतमा छन् । चिनियाँ अदालतको यो फैसलाले चीन र अमेरिकाको सम्बन्ध थप चिसिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

चिनियाँ प्रविधि कम्पनी हुवावेईका वरिष्ठ अधिकारी मेङ वान्झोऊको सुपुर्दगी मुद्दा चलिरहेको समयमा स्पाभोर चीनमा पक्राउ परेका थिए । आलोचकले चीनमाथि स्पाभोर र अर्को एक क्यानडेली नागरिक पक्राउ गर्नुलाई राजनीतिक बार्गेनिङको हतियार भएको बताउँदै आएका छन् ।

चीनको डानडोङस्थित एक अदालतले बुधबार वक्तव्य जारी गर्दै जासुसी गरेको र अवैधरुपमा चीनको गोप्य जानकारी अर्को मुलुकमा पुर्‍याएको आरोपमा स्पाभोर दोषी पाइएको र उनलाई ११ वर्षको जेल सजाय तथा ५० हजार चिनियाँ युआन जरिवानाको फैसला सुनाइएको बताएको छ ।

उनलाई मुलुकबाट निष्कासन गरिने पनि फैसलामा उल्लेख छ । तर, चीनले सामान्यतया जेल समय भुक्तानी गरेपछि मात्र निष्कासन गर्ने गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ अदालतको फैसला ‘पूर्णरुपमा अस्वीकार्य र अन्याय’ रहेको बताएका छन् । स्पाभोरमाथिको कानुनी प्रक्रियामा पारदर्शिताको अभाव देखिएको ट्रुडोको भनाइ छ । साथै उनीमाथिको कारबाहीमा अन्तर्राष्ट्रिय कानुनको न्यूनतम मापदण्ड पनि पूरा नगरिएको उनको दाबी छ ।

Facebook Comments