चिनियाँ राजदूत फेरि राजनीतिक दौडधुपमा सक्रिय

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी फेरि राजनीतिक दौडधुपमा सक्रिय भएकी छिन्। उनी आइतबार एकै दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गर्दै राजनीतिक दौडधुपमा सक्रिय भएकी हुन् ।

राजदूत यान्छी आइतबार प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेकी थिइन् । भेटवार्तामा दुई देशबीचको सम्बन्ध तथा समसामयिक विषयमा भएको छलफल बाहेक कुनै जानकारी खुलाइएन। त्यस्तै उनले सोही दिन गृहमन्त्री खाणसँग गरेको भेटवार्तामा नेपाल चीन-मित्रतालाई थप उचाइमा पुर्‍याउन चाहेको बताएकी थिइन् ।

स्रोतका अनुसार चिनियाँ राजदूतको यस्तो राजनीतिक दौडधुपले नेपालको राजनीतिमा हस्तक्षेप गर्ने भन्ने आशंका उब्जिएको छ। स्रोतले भन्यो,‘ चीनले विभिन्न रणनीतिक खेल खेल्दै नेपालको राजनीतिमा हस्तक्षेप गर्ने योजना बनाएको छ।’

त्यस्तै चिनियाँ राजदूत यान्छी तीन साताअघि प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन निर्माणमा भूमिका खेलेका दुई शीर्ष नेतासँग भेटवार्ता गरेका थिए । उनी प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकी थिइन्।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चीनले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजन ल्याउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ मा पहिलोपटक प्रतिनिधिसभा भंग गरेपछि नेपालको राजनीतिक अवस्था बुझ्न चीनले एक उच्चस्तरीय राजनीतिक टोली नै पठाएको थियो ।

५ माघमा चीनका विदेशमन्त्री वाङ यीले निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भएको टेलिफोन सम्वादमा नेपालको राजनीतिक घटनाक्रमबारे चासो राखेका थिए । जेठ ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि उसले कुनै प्रतिक्रिया दिएन । बरु नेपालका साना ठूला सबै राजनीतिक दलहरुसँग भर्चुअल माध्यमले सामूहिक छलफल भने गर्ने गरेको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.