कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि जोखिम झनै बढेको छ। कोरोनाको जोखि बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भबिष्यमा तय गरिएका कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् । मन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयसँगको समन्वयमा परीक्षाहरु स्थगित गर्न सीसीएमसीमा आफूले सिफारिश गरेको सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।’

यही साउन ३१ गतेदेखि ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सरकारी तयारी भएपनि संक्रमणको भयावह अबस्था बन्दै गएको भन्दै स्थगित गर्न चौतर्फी दवाब बढ्दै गएको थियो । यस बिषयमा पछिल्लो समय सामाजिक संजालमा परीक्षा स्थगित गर्नुपर्ने अभियान नै चलेको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.