प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंका

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी हुन जानुअघि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंका गरिएको छ ।

शनिबार भएको प्रि–स्याट परीक्षाको प्रश्न पत्र बाहिरिएको आशंकामा छानविन सुरु भएको हो । यस विषयमा प्रहरी प्रधान कार्यालयको युएन शाखाले छानविन थालेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए ।

‘प्रश्न पत्र बाहिरिएको भन्ने प्रमाण त भेटिएको छैन तर आशंकामा छानविन भइरहेको छ’ उनले भने । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रश्न पत्र बाहिरिएको गुनासोपछि परीक्षा निर्धारित समयभन्दा एक घन्टा ढिलो गरी सुरु भएको थियो ।

एक प्रहरी अधिकृतको दाबी अनुसार परीक्षा हुनुअघि केही प्रहरीको म्यासेन्जरमा प्रश्न पत्र पुगेको थियो । ‘प्रश्न पत्र बनाउने तल्लो दर्जाका अधिकृतहरुले चिनजानको अफिसरलाई दिएको हुनसक्छ’ उनले भने, ‘यो प्रश्न बनाउनेहरुको गम्भिर गल्ती हो ।’

प्रहरी प्रधान कार्यालयमा शुक्रबार र शनिबार प्रि–स्याट परीक्षा भएको थियो । यसमा उत्तीर्ण हुनेलाई मात्र मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिएको छ । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म सहभागी थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.