हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा पुननिर्माण कार्य सुरु

ललितपुर । ललितपुरस्थित हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गर्दै पुनर्निर्माण कार्य सुरु भएको छ ।

पुनर्स्थापना कार्य सुरु गर्नु पूर्व क्षमा माग्ने रिति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन् ।

काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा INTACH का अधिकारीहरुले उक्त पूजामा सहभागीता जनाएका थिए ।

१८ करोड १ लाख रुपैयाँमा उक्त महाविहारको पुनर्निर्माण हुन लागेको बताइएको छ ।

सुनौलो मन्दिरको रुपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ । यो मन्दिर पाटनका बौद्ध मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो ।

भूकम्पले क्षति पुर्‍याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ ।

यो परियोजना पनि ती २८ वटा परियोजना भित्रकै एक हो । ललितपुर जिल्लामा सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ ।

Facebook Comments