चिनियाँ विश्वविद्यालयको स्याटेलाइट क्याम्पस बनाउन लागेको विरोधमा हजारौं नागरिकले गरे प्रदर्शन

काठमाडौं । हंगेरीको राजधानी बुडापेस्टमा चिनियाँ विश्वविद्यालयको स्याटेलाइट क्याम्पस बनाउन लागेको विरोधमा हजारौं नागरिकले प्रदर्शन गरेका छन्।सांघाईको फुदान विश्वविद्यालयको क्याम्पस आफ्नो सहरमा बनाउने सरकारको निर्णयविरूद्ध शनिबार हजारौं मानिसले सडकमा प्रदर्शन गरेका हुन्।

सरकारले प्रदर्शनमा लगाएको प्रतिबन्धका बाबजुद् झन्डै १० हजार मानिस सडकमा निस्केर प्रदर्शन गरेपछि यो योजनाले भविष्यमा थप विवाद सिर्जना गर्ने देखिएको छ।

बुडापेस्टमा बनाउने तयारी भइरहेको क्याम्पस फुदान विश्वविद्यालयको युरोपमा पहिलो भौतिक उपस्थिति हुनेछ। साढे १ अर्ब अमेरिकी डलर खर्च हुने क्याम्पस बनाउन चिनियाँ कम्पनी र कामदार जानेछन्।

‘स्टुडेन्ट सिटी’ को अवधारणा अनुसार चिनियाँ विश्वविद्यालयको क्याम्पस पनि बनाउन लागिएको हो। अर्को वर्ष चुनाव आउन लागेकाले प्रधानमन्त्री भिक्टर अर्बानका विपक्षीहरूले उक्त प्रोजेक्टलाई महत्वका साथ उठाइरहेका छन्। चार कार्यकालदेखि सत्तामा रहेको अर्बानको पार्टीले कसरी भ्रष्टाचार गरिरहेको छ भन्ने यो एक नमूना भएको विपक्षीहरूको आरोप छ।

मत सर्वेक्षणहरूले धेरै हंगेरियनहरू उक्त प्रोजेक्टको विपक्षमा रहेको देखाएका छन्। यसअघि सहरका अधिकारीहरूले प्रोजेक्टको विरोधमा क्याम्पस बन्न लागेको ठाउँका सडकका नाम नै परिवर्तन गरिदिएका थिए।

चीनलाई चिढ्याउन उनीहरूले चार वटा सडकका नाम ‘फ्री हङकङ रोड’, ‘उइगुर मार्टर्ज रोड’, ‘दलाइ लामा रोड’ र ‘बिसुह्प सिए सिगुआङ रोड’ राखेका थिए।

चिनियाँ विदेश मन्त्रालयले उक्त कदमलाई आपत्तिजनक भनेको छ। प्रधानमन्त्री अर्बान युरोपियन युनियनमा र चीनका भरपर्दा मित्र हुन्। उनले यो कुरा पटक-पटक पुष्टि गरेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.