एजेन्सी । बेलायतका प्रधानमन्त्री ५६ वर्षीय बोरिस जोन्सनले आफूभन्दा २३ वर्ष कम उमेरकी प्रेमिकासँग सुटुक्क विवाह गरेका छन्। बेलायती सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री जोन्सनले आफ्नी प्रेमिका ३३ वर्षीया क्यारी सिमोन्ड्ससँग शनिबार गुपचुप ढंगले विवाह गरेका हुन्।
वेस्टमिनस्टर क्याथेड्रलमा आयोजित उनको विवाहमा ३० जना मात्र सहभागी भएका थिए। आफ्नै (प्रधानमन्त्री) कार्यालयका समेत सबैलाई जानकारी नदिइएको विवाहको तस्बिर विवाहमा सहभागीले सामाजिक सञ्जालमा राखेपछि प्रधानमन्त्री जोन्सनले विवाह गरेको खुलासा भएको हो।
प्रधानमन्त्री जोन्सनले यसअघि दुईपटक विवाह गरेका भए पनि दुवै पत्नीसँग डिभोर्स भएको थियो। जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि रोमान्टिक सम्बन्धमा थिए। उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए। गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन्।
