उपत्यका आउने सबै नाका सिल, अब कसरी काठमाडाैँ आउछन् भीभीआइपी ?

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका सबै नाका सिल गरेको छ। उपत्यकाभित्र कोरोनाभाइरसको जोखिम बढेको भन्दै मन्त्रालयले सबै नाका बन्द गर्ने निर्णयसहित स्थानीय सरकारलाई परिपत्र पठाएको हो।

गृह मन्त्रालयले बुधबार उपत्यकाभित्रका स्थानीय तहहरूलाई पठाएको छ बुँदे परिपत्रमा अत्यावश्यक कामबाहेक उपत्यका प्रवेशमा रोक लगाउने उल्लेख छ।

यस्तै उपत्यका प्रवेशका सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्णरूपमा सिल गर्ने गृहको निर्णय छ।

‘सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्ण रूपमा सिल गर्ने। लुकीछिपी हुने प्रवेशहरू पूर्ण रूपमा रोक लगाउने,’ गृहले स्थानीय तहलाई पठाएको परिपत्रको दोस्रो बुँदामा भनिएको छ।

यस्तै उपत्यकाभित्र प्रवेश गर्न परे आफ्नै खर्चमा आरडिटी परीक्षण गरी रिपोर्ट देखाउनु पर्नेछ।

‘उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेशपूर्व नै आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडिटी परीक्षण गरी सोको रिपोर्टसाथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्ने,’ गृहको परिपत्रमा भनिएको छ।

लुकीछिपी प्रवेश गरेकालाई खोजी गरी कारबाही गर्न पनि गृहले स्थानीय तहलाई आग्रह गरेको छ।

गत जेठ १ गते गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकमा सहभागी उपत्यकाभित्रका मेयरहरूले नाका कडाइ गर्न माग गरेका थिए।

पछिल्लो समय काठमाडौं उपत्यकामा भेटिएका कोरोनाभाइरस संक्रमितमध्ये अधिकांश बाहिरबाट आएकाहरू छन्।

Facebook Comments