वायु प्रदूषणका कारण आँखाका बिरामी बढ्दै, कस्ता व्यक्ति धेरै प्रभावित ?

कञ्चनपु। वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउने लगायतका समस्या देखा पर्न थालेको छ ।

स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या लिएर उपचारका लागि पुग्न थालेका छन् ।

उपचारका लागि पुग्नेहरुले आँखा चिलाउने र पोल्नेलगायतका समस्या लिएर आउने गरेको उनले बताए । “वायु प्रदूषण बढेपछि यस्तो समस्या देखिँदै आएको छ”, उनले भने, “विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक यस्तो समस्या लिएर बढी पुग्न थालेका छन् ।” वायु प्रदूषणको स्तर अत्यधिक मात्रामा बढेपछि बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, मुटुरोगीलगायत अन्य दीर्घरोगी बढी प्रभावित हुन थालेका छन् ।

वायु प्रदूषणबाट प्रभावित हुनसक्ने व्यक्तिलाई घर बाहिर नजान आग्रह गरिएको भीमदत्त नगरपालिकाका वातावरण शाखाका प्रमुख गणेश ठगुन्नाले बताए । वायु प्रदूषण बढेपछि सार्वजनिक सूचना नै जारी गरेर यसबारे आग्रह गरिएको उनले बताए ।-रासस

 

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.