माओवादीबाट एमालेमा लागेका दुई प्रदेशसभा सदस्यले स्पष्टीकरण दिएनन्

बुटवल । लुम्बिनी प्रदेशमा माओवादीबाट एमालेमा लागेका दुई प्रदेशसभा सदस्यहरुले पार्टीलाई स्पष्टीकरण पत्रको जवाफ दिएका छैनन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्रका सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टे स्पष्टीकरण पत्र यही १२ गते पठाएको थियो। स्पष्टीकरणको कुनै अर्थ नरहेको भन्दै उनीहरुले जवाफ नदिएका हुन् ।

आज सम्म पनि जवाफ नदिएपछि कानुनी प्रकृया अगाडि बढाउने तयारी भएको पार्टीको संसदीय दलको बैठकले प्रमुख सचेतक तुलाराम घर्तीले रातोपाटीलाई बताए । प्रमुख घर्तीले स्पष्टीकरण पत्रको कुनै जवाफ नआएपछि आफूहरुले प्रदेशसभा सचिवालयमा पार्टीले कारवाही गरेको पत्र पठाउने र पार्टीको केन्द्रीय कार्यालयमा पनि पार्टी सदस्यताबाट हटाउने बारे पत्र पठाउने तयारी भइरहेको बताए ।

माओवादीले छाडेर एमालेतिर लाग्ने दधिराम न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ को २ बाट विजेता हुन् भने दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २ को २ वाट विजेता हुन् । यो प्रदेशमा माओवादी केन्द्रका २० सांसद छन् । त्यसमा दुई जना ओली पक्षतिर लागेपछि माओवादी संख्या झन् घटेको छ । प्रदेशमा हाल एमाले र माओवादी संयुक्त सरकार नै रहेको छ । स्पष्टीकरण पत्रको जवाफ नदिने मध्येका एक दिनेश पन्थीले माओवादी पार्टीको पत्रको कुनै अर्थ नभएको टिप्पणी गरे ।

Facebook Comments