चितुवाको छाला समात्‍न प्रहरी बन्यो नक्कली ग्राहक

लमजुङ । झण्डै २ साताअघि लमजुङ प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाको मोबाइलमा एउटा फोन आयो, ‘यहाँ मान्छेसँग बाघको छाला छ ।’ तर, त्यो बाघको छाला नभई चितुवाको छाला थियो ।

लमजुङको दोर्दी गाउँपालिका-६ सिमी गाउँबाट बरामद गरेको चितुवाको छालासहित पक्राउ परेको ३४ वर्षीय मनराज गुरुङ ।डीएसपीले २ जना सादा पोसाकका प्रहरीलाई दोर्दी गाउँपालिका–८ ढोडेनीको सिमी गाउँ पठायो । उनीहरु गाउँ पुगे । यताउता गाउँमा बसे । बुझ्दै गए ।

उनीहरुले केही दिनअघि मनराजले चितुवाका छाला राखेको पक्का गरे । अनि नक्कली ग्राहक बनेर उनकोमा गए । मनराजले छाला र हड्डीको मूल्य ३५ हजार रुपैयाँमा बिक्री गर्न राजी भए ।

उनलाई लिएर झर्ने क्रममा बाटोमा प्रहरी जम्काभेट भयो । ‘हाम्रै मान्छेले मनराजलाई लिएर आउँदै थिए । उनलाई भेटेर ल्याउँदै गर्दा हाम्रा पोसाक लगाएका प्रहरीसँग भेट भयो । हामीले पक्राउ गरेर ल्यायौं,’ उनले भने । चितुवाका छाला र हड्डीसहित सोमबार राति ९ बजेतिर पक्राउ गरिएका उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर डिभिजन वन कार्यालयमा बुझाएको छ ।

सहायक वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार प्रहरीबाट वयस्क चितुवाको सिंगो छाला र २ किलो ९० ग्रामको हड्डी प्राप्त भएको छ । पक्राउ परेकालाई मंगलबार जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको छ । ‘हामी अनुसन्धानमा जुटेका छौं । अनुसन्धान सकिएपछि कारबाही प्रक्रियामा जान्छौं,’ उनले भने ।

Facebook Comments