ट्याक्सी चालक र पठाओ राइडरको सडकमै मारामार !

काठमाडौं । सोमबार बेलुकी काठमाडौंको नयाँ बसपार्कमा ट्याक्सी चालकको एक समूहले पठाओ चालकमाथि निर्घात कुटपिट गरेका छन् ।

आफूले भन्दा सस्तो भाडामा यात्रु चढाएको भन्दै ट्याक्सी चालकहरुले पठाओ राइडरमाथि आक्रमण गरेको पठाओ नेपालले बताएको छ ।

सोमबार साँझ ६ बजेतिर एकजना पठाओ चालक ट्याक्सी चालकहरुबाट निर्घात कुटिएको प्रत्यक्षदर्शी एवं पर्यटन व्यवसायी ध्रुव सिंखडाले बताए । ‘यात्रु कुरेर बसेका पठाओ राइडरलाई शुरुमा ट्याक्सी चालकले लखेटे, उनीहरुले केहीबेर नाराजुलुस पनि गरे, त्यसपछि बाटोमा हिंडिरहेका पठाओ राइडरलाई कुटपिट गरे’, सिंखडाले भने ।

नजिकैको एक व्यापारिक मलबाट घटना नियालिरहेका उनले उपलब्ध गराएको भिडियो फुटेजमा पनि पठाओ चालकमाथि कुटपिट भएको देखिन्छ । एक मिनेट ३५ सेकेन्ड लामो भिडियो फुटेजमा साँझपख केही मानिसहरु नारा जुलुस गर्दै हिंडेको देखिन्छ भने त्यसको केहीबेरमा हेलमेट लगाएका एक पुरुषमाथि निर्घात कुटपिट हुन्छ ।

घटनाबारे जानकारी लिन टेलिफोन गर्दा प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक रमेश विष्टले माथिल्लो निकायमा सोध्न आग्रह गरे ।

Facebook Comments