स्पष्टीकरण सोध्‍नेहरु स्वयं लाखौं प्रश्नको घेरामा छन् : योगेश भट्टराई

काठमाडाैं । नेपाल एमालेका माधवकुमार नेपालपक्षीय नेता योगेश भट्टराईले आफ्नो समूहका नेतालाई स्पष्टीकरण सोध्‍ने प्रधानमन्त्री केपी शर्मा ओली समूहको प्रतिवाद गरेका छन्।

गत शनिबारको केन्द्रीय समिति बैठकबाट ओलीपक्षले वरिष्ठ नेता नेपालसहित चारजनालाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको थियो। ओलीपक्षले बोलाएको केन्द्रीय कमिटी बैठकले नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डेय र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको थियो। स्पष्टीकरण सोध्‍ने ओलीपक्षलाई प्रतिवाद गर्दै नेता भट्टराईले ट्‍विटरमा लेखेका छन्,‘सोध्‍नेहरु (ओली पक्ष) स्वयं लाखौं प्रश्नको घेरामा छन्।’

शनिबारको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा माधवपक्षले बहिष्कार गरेको थियो।

बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई थप अधिकार दिएको थियो। ओलीलाई थप अधिकार दिने निर्णय तथा स्पष्टीकरण सोध्‍ने उक्त निर्णयको आलोचना सोही दिन पनि गरेका थिए। भट्टराईले शनिबार ट्‍विट गर्दै उक्त दिनलाई ‘जनताको बहुदलीय जनवादले घुम्टो ओढेको दिन’का रुपमा अर्थ्याएका थिए।

Facebook Comments