‘सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन’

काठमाडौं । प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् ।

‘सीमामा तारबार लगाउने जताबाट जे कुरा आएको छ मलाई लाग्छ त्यो नेपालको राष्ट्रियताको लागि, मधेसको जनताको लागि हितकर छैन’ सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै नेता यादवले भने ।

केही दिनअघि पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सधैँ विवाद गरिरहनु भन्दा सीमामा तारबार वा पर्खाल लगाउन आवश्यक रहेको बताएका थिए ।

कतिपय सांसदले सीमामा तरबार लगाउने र पर्खाल लगाउने भए आफ्नो तलब दिने घोषणासमेत गरिरहेका छन् ।

त्यसप्रति लक्षित गर्दै नेता यादवले मधेसी जनताको राष्ट्रियतामाथि प्रश्न नउठाउन आग्रह गरे । ‘५८ प्रतिशत तराई मधेशको भूभागमा त्यहाँको मधेसी जनताले खुन बगाउँछ । पसिना बगाउँछ । हामी त्यहाँ लड्छौं । हामीमाथि यत्रो राष्ट्रियताको प्रश्न खडा गर्ने हो ?’ यादवले भने । यादव सर्लाही २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्छन् ।

Facebook Comments