ओलीलाई टार्गेट गरी संसदमै गर्जिए भीम रावल

काठमाडौं। नेकपा एमालेका सांसद भीमबहादुर रावलले संसदमा गर्जिदै सर्वोच्चदेखि प्रधानमन्त्रीसम्म प्रश्नै प्रश्न उठाएका छन्। उनले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्री कुन पार्टीको हो भन्ने प्रश्न उठाएका छन् ।

आइतबार संसद बैठकमा बोल्दै रावलले भने, ‘नेपाल कम्युनिस्ट पार्टी नेकपा होइन भने प्रधानमन्त्री कुन पार्टीको हो ? प्रधानमन्त्रीजी कुन पार्टी प्रतिनिधित्व गर्नुहुन्छ ? कुन पार्टीको सरकार हो ? स्पष्ट हुनुपर्छ।’

रावलले सर्वोच्च अदालतबाट नेकपा दल एकीकरण नभएको फैसलाले वैधता गुमाएको सरकारले ल्याएको अध्यादेश कसरी कार्यसूचीमा गर्‍यो भनी प्रश्न गरे।
‘अध्यादेश कहाँबाट आयो ? जुन कुराको वैधता संवैधानिक कानुनी हिसाबबाट छैन, अभ्यास गरिँदैन । प्रतिनिधिसभाको हत्या गर्ने प्रधानमन्त्रीको अवस्था के हो ?’ उनले प्रश्न गरे।

रावलले नेकपा खारेज गर्ने अदालतको निर्णयमाथि पनि प्रश्न उठाएका छन् । ‘यो कानुनी फैसला हो कि राजनीतिक फैसला हो ? अदालतले पार्टी गठन गर्ने दिन आयो । त्यसपछि मात्रै अध्यादेशको कुरा गरौला,’ रावलले भने।

संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाअनुसार संसद बैठक बस्ने दिन नै सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला गरेको थियो ।

Facebook Comments