काठमाडौं । गत वर्षदेखि बन्द भएको नेपाल-चीन सीमा नाका अझै पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । सन् २०७६ को माघमा सुरुमा चिनियाँ ल्होसार पर्वका कारण नेपाल-चीन नाका बन्द गरिएकोमा हालसम्म खुलाइएको छैन ।
२०७६ माघ १५ देखि सामान आयाता हुन नसक्नुमा चिनियाँ पक्षकै अघोषित नाकाबन्दी मुख्य कारक रहेको देखिन्छ । चिनियाँ पक्षले नाका बन्द गर्ने र नेपाल सरकारले नाका खुलाउन पहल नगर्दा व्यापारमा ठूलो क्षति भएको र व्यापारीहरु निराश भएका छन् । सरकार सत्ताको खेलमा डुबेकोले पनि व्यापारिक क्षेत्र र चीनसँग कडारुपमा प्रस्तुत हुन नसकेको उनीहरुको आरोप छ ।
नाकाबाट सामान आयात हुने विषयमा चिनियाँ भन्सार अधिकारीहरूबाट कुनै पनि जानकारी नआएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताएका छन् ।
गत वर्षको माघ १५ देखि नै रसुवागढी नाकामा चीनबाट हुने आयात रोकिएको छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात बन्द थियो । पछि कोरोना देखापरेपछि नाकाबाट आयात थप प्रभावित बनेको हो । पटक–पटक नाकाबाट आयात ठप्प हुँदा सयौं व्यवसायीका अर्बौं मूल्य बराबरका सामान चीनतर्फ रोकिएका छन् ।
केही महिनाअघि करोडौंको सामान नाकामै अलपत्र परेपछि कोटेश्वरमा एक व्यापारीले आत्महत्यासमेत गरेका थिए । चीनबाट ल्याउन लागिएको सामान नाकामै ठप्प हुँदा एकातिर बैंकको ऋणको व्याज थपिएको छ भने अर्कोतिर व्यवसाय चौपट परेको छ । यस विषयमा सरकारले पहल गर्नुपर्ने भए पनि कुनै चासो नदिएको व्यापारीहरुको गुनासो रहेको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारले भने यस विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नै पहल गरिरहेको प्रतिक्रिया दिएका छन् । उनले भने, “परराष्ट्रमन्त्रीज्यू आफैं यो समस्या सामाधानका लागि लागिरहनु भएको छ । उहाँले दूतावासलाई पत्र पठाएर नाका खुलाउन माग गर्नु भएको छ ।”
नेपालबाट हुने निर्यात पनि १३ महिनायता ठप्प छ । नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको १३ महिना भयो । अगस्टदेखि नै व्यापारीले ल्याएका सयौं कन्टेनर सामान केरुङभन्दा माथि खासा, न्यालम धिङ्ग्री, सिगात्सेलगायत ठाउँमा गोदाममै थन्किएका छन् ।
बाटोमै रोकिएका सामान पनि जाडो सिजनका हुन् । आयात ठप्प हुँदा गर्मीका सामान पनि समयमै आउन नसक्ने चिन्ता थपिएको व्यवसायी बताउँछन् । केरुङभन्दा माथि रोकिएका सामान ल्याउन कतैबाट पनि पहल नभएको व्यवसायीको गुनासो छ ।
Facebook Comments