काठमाडाैँ । बैशाख २५ गतेबाट हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनका लागि नेतृत्व हत्याउन शीर्ष नेताहरु भित्रभित्रै कस्सिएर लागेका छन् । तीनवटै अध्यक्ष पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले नेतृत्वका लागि तयारी सुरु गरिसकेका छन् ।
महाधिवेशन अन्तर्गत फागुन १५ गते शनिवारसम्म सक्रिय सदस्यता वितरणको काम सकिएको छ । फागुन १६ गते अर्थात आइतबारबाट सक्रिय सदस्यको फारम र नामावली केन्द्रमा संकलन गरिनेछ । त्यसपछि फागुन २६ गतेबाट चैत १० गतेसम्म वडा, गाउँपालिका र नगरपालिकाको निर्वाचन सम्पन्न हुनेछ ।
प्रदेशसभा निर्वाचन क्षेत्रिय समिति, प्रतिनिधिसभा निर्वाचन क्षेत्रिय समिति, जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश समितिको निर्वाचनपछि बैशाख २५ गतेबाट केन्द्रीय महाधिवेशन गरिनेछ ।
यी सबै निर्वाचनमा आफू पक्षधर प्रतिनिधिलाई जिताउन तीनवटै अध्यक्ष लागेका छन् । अध्यक्ष राणाको समूहले सबैभन्दा बढी सक्रिय सदस्यता बितरण गरेको बुझिएको छ । कमल थापा समूहले पनि रामै्रसंग सक्रिय सदस्य थपेका छन् । यो मामिलामा लोहनी कमजोर देखिएका छन् ।
राप्रपामा नेतृत्व दोस्रो पुस्तामा जानुपर्ने बहस चलेपनि यसपटकको महाधिवेशनमा यो सम्भव देखिदैन । महाधिवेशनका दौरान लोहनीले राणालाई समर्थन गर्ने लगभग पक्का छ । कमल थापासंग प्रायः सधैंजसो टकराव परिरहने र विगतमा पनि थापाकै कारण अर्को पार्टी खोल्नु परेकाले लोहनी थापासंग सन्तुष्ट छैनन् ।
अर्कोतर्फ कमल थापाको स्वभाव र बिगतमा राजसंस्था र धर्मका सम्बन्धमा देखिएको बिचलनका कारण उनीमाथि कार्यकर्ताहरुको शंका हट्न सकेको छैन । थापाले आफूबाट विगतमा भएका कमजोरी स्वीकारेपनि त्यसको अशरबाट भने उनी जोगिने देखिदैनन् । यो विषयमा यो महाधिवेशनमा पनि उनीमाथि गम्भीर प्रश्न उठ्ने देखिन्छ ।
राणा भने सुरक्षित देखिन्छन् । राष्ट्रिय राजनीतिमा उनले राख्दै आएको धारणा, राजसंस्था र हिन्दु राष्ट्रको औचित्य सम्बन्धी विचार, नेता कार्यकर्ताको संरक्षण र उदार नीतिका कारण राणा बलिया देखिन्छन् ।
अझ मुलुकको अन्योलपूर्ण राजनीतिकाबीच उनको नेतृत्वमा चुनावी सरकार बनाउनेसम्मको गृहकार्य पनि एकथरीले चलाएका छन् । भारतसंग उनको व्यक्तिगत तथा पारिवारिक सम्बन्ध, स्वच्छ छवि र परिपक्व राजनीतिज्ञका कारण उनको आवश्यकता महसुस गरिएको हो ।
यो कार्यकाल राणालाई समर्थन गरेर अर्को कार्यकाल थापाले लिने सहमति गराउने पक्षमा पनि नेताहरु भित्रभित्रै लागेका छन् । यसो भएमा राप्रपाको महाधिवेशन वास्तविकरुपम एकताको महाधिवेशनमा रुपान्तरण हुनेछ ।
Facebook Comments