संसद् विघटन राजनीतिक होइन, संवैधानिक प्रश्न हो : सतीशकृष्ण खरेल

काठमाडाैं । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले संसद् विघटन राजनीतिक नभई संवैधानिक विषय रहेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता खरेलले प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न भएको बताएका हुन् । प्रतिनिधिसभा विघटन राजनीतिक प्रश्न नभएकैले यसमा सुनुवाइ गर्न नहुने भन्न नमिल्ने उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन राजनीतिक विषय भएकाले कानुनी ‘रिभ्यु’ हुन नहुने लिखित जवाफ पेस गरेका थिए ।

उनले सार्वजनिक अभिव्यक्तिमा पनि आफूले राजनीतिक कदम चालेकाले अदालतले त्यसमा हात हाल्न नहुने भनेका थिए । उनका निजी वकिल र सरकारी कानुन व्यवसायीले पनि सोही कुरा इजलासलाई बताएका थिए । वरिष्ठ अधिवक्ता खरेलले भने, ‘प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न हो । यसलाई राजनीतिक प्रश्न भन्न मिल्दैन ।’

कसलाई मन्त्री नियुक्त गर्ने भन्नेमा प्रधानमन्त्रीको राजनीतिक निर्णय हुने तर संसद् विघटन राजनीतिक नभई संवैधानिक विषय हुने खरेलको भनाइ थियो ।

Facebook Comments