३७ लाख अवैध रकमसहित एकजना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौंको नागढुं‌गाबाट स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित चितवनको माडी नगरपालिका–६ का रामकुमार गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख ९१३९ नम्बरको हाइस गाडी जाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।

उनको साथबाट ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आईएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेकसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

गुरुङलाई नियन्त्रणमा लिएर बरामद भएको रकम र चेकका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।