बच्चा जन्माउन चीनमा नेपालसहित यी पाँच देशबाट युवतीकाे तस्करी

काठमाडाैँ । बच्चा जन्माउन चीनमा नेपालसहित विभिन्न पाँच देशबाट युवतीहरूकाे तस्करी भइरहेकाे छ। विभिन्न प्रलाेभन देखाइ नक्कली बिहे गर्दै चीनमा नेपाली युवतीहरूकाे तस्करी भइरहेकाे एक तथ्याङले देखाएकाे छ।

नेपाली युवतीलाई विवाहको प्रलोभनमा चीनमा तस्करी गर्ने गिरोह नै सक्रिय रहेकाे प्रहरीकाे तथ्याङले देखाएकाे छ।

नेपाली र चिनियाँ दलालले ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका युवतीलाई पैसा दिएर विवाह गरी चीनमा तस्करी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। एक युवती विवाह गरेबापत काठमाडौंमा रहेका चिनियाँ दलालले ८० हजार, युवतीका अभिभावकले ५० देखि ६० हजार रुपैयाँसम्म लिएको तथ्य फेला परेको प्रहरी अधिकारीहरूकाे भनाइ छ।

रोजगारीको प्रलोभन दिँदै म्यारिज भिसामा चीन पुऱ्याइएकी एक २० वर्षीया युवती १० महिना लामो नारकीय जीवन बिताएर गत १२ कात्तिकमा स्वदेश फर्किइन् । चिनियाँ युवकसँग बिहे गराएर सोलुखुम्बुकी उनलाई २५ पुस ०७६ मा चीन पुऱ्याइएको थियो ।

युवतीले प्रहरीलाई दिएको बयानअनुसार चीनको सान्दोङ प्रान्तमा पुऱ्याएपछि उनीसँग नेपालमा विवाह गरेका युवक सम्पर्कविहीन भए । उनलाई ग्रामीण क्षेत्रको एक घरमा लगेर बन्धक बनाइयो । ताम्पु थोङ नामक चिनियाँको घरमा राखेर अन्य पुरुषसँग जबर्जस्ती शारीरिक सम्पर्क राख्न लगाई गर्भवती बन्न बाध्य बनाइएको उनको बयानमा उल्लेख छ ।

उनी बसेको घरमा अन्य नेपाली युवतीलाई समेत त्यसैगरी बच्चा जन्माउनका लागि बन्धक बनाई राखिएको ती युवतीबाट खुलेको छ । नेपालबाट चीन उडाउनुअघि उनलाई ब्युटीपार्लरमा जागिर लगाइने आश्वासन दिइएको थियो ।

ती युवती स्वदेश फर्केपछि चीनमा बच्चा जन्माउनकै लागि नेपाली युवतीहरूको तस्करी भइरहेको नयाँ तथ्य खुलेको हो । उनलाई चीन पु¥याउन संलग्न रहेको आरोपमा काभ्रेका किरण तामाङलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख एसएसपी डा. देवबहादुर बोहराले जानकारी दिए ।

चीनमा नेपाली युवती तस्करीका लागि भाडाका बेहुला प्रयोग हुने गरेको छानबिनमा खुलेको छ । नेपाली युवतीसँग बिहे गरेका युवक चीन पुगेपछि बेपत्ता हुन्छन् । चिनियाँ युवालाई आर्थिक प्रलोभनमा पारी नेपाल ल्याउने र बिहे गराएर चीन पु¥याई अन्य गतिविधिमा लगाउने गरिएको छ ।

अधिकांश घटनामा भाडाका बेहुला नै प्रयोग हुने गरेको अधिवक्ता कोइराला बताउँछन् । विगतमा बिहे गरेर चीन पु¥याइएका युवतीलाई युवककै घरमा राखी यौन र श्रम शोषण हुन्थ्यो । पछिल्लो समय बच्चा जन्माउनका लागि मात्र लैजान थालिएको नयाँ तथ्य सामुन्ने आएको छ । नेपाल मात्र नभई पाकिस्तान, म्यानमार, बंगलादेश र भुटानबाट पनि नक्कली बिहे गरी युवतीहरूलाई चीन पु¥याइने गरेको छ ।

नेपालबाट चीनमा बिहेको नाममा युवतीको तस्करी भइरहेको ०७१ सालमै खुलेको थियो । त्यतिवेला केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंका केही म्यारिज ब्युरोका सञ्चालकलाई पक्राउ पनि गरेको थियो ।

यस्तै, भदौ ०७६ मा मानव बेचबिखन अनुसन्धान ब्युरोले चार चिनियाँसहित १० जनाको गिरोहलाई पक्राउ गरेको थियो । त्यतिवेला बिहे गरेर चीन पुगेका चार युवतीको उद्धार गरिएको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.