निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणका लागि सम्झौता

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) बीच राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणका लागि सम्झौता भएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विमानस्थलको अद्यावधिक गुरुयोजना तयार गर्न प्राधिकरणले भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) सँग सम्झौता गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

यसअघि प्राधिकरणले आशय–पत्र (लेटर अफ इन्ट्रेस्ट) जारी गर्दै गुरुयोजना निर्माण गर्न कम्पनीको टुङ्गो लगाएको थियो ।

उनले भने, ‘अबको १३ महिनाभित्र सीजी इन्फ्राटा–बीडीए (जेभी) कम्पनीले विमानस्थलको गुरुयोजना तयार गरिसक्नुपर्ने गरी सम्झौता भएको छ । गुरुयोजना निर्माणको लागत २९ करोड ८९ लाख रुपियाँ रहेको छ ।’ विमानस्थलको नयाँ गुरुयोजना तयार पारेर प्राधिकरणमा पेस गर्ने उनले बताए ।

गत असोजमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढाउन गुरुयोजना यथाशीघ्र निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनपछि प्राधिकरणले गुरुयोजना निर्माणका लागि कम्पनी छनोट गरेको हो ।

गुरुयोजना निर्माणका लागि प्राधिकरणले माग गरेको आशय–पत्रमा १३ वटा कम्पनीले आवेदन भरेका थिए, जसमध्ये छवटा कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएका थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.