काेराेना पछि सञ्चालित विद्यालय १० दिनका लागि फेरी बन्द

कञ्चनपुर । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि बन्द भएको विद्यालय मङ्सिर २१ गतेदेखि सञ्चालन गरिएका थियो । वडा नं ५ र ६ मा गरी आठ जनामा कोरोना भाइरसको सङ्क्रमण हुनुका साथै एकको मृत्यु भएपछि नगरपालिकाले विद्यालयमा समेत सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

“कोरोना भाइरस समुदायस्तरमै देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ”, नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रप्रसाद भट्टले भन्नुभयो, “नगरपालिकाको निर्णयलाई बेवास्ता गरी प्रत्यक्ष विधिबाट कक्षा सञ्चालन गरे त्यसबाट हुने जोखिमको सम्पूर्ण जिम्मेवारी प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले लिनुपर्ने छ ।” नगरपालिकाको निर्णयलाई बेवास्ता गर्दै नगर क्षेत्रका केही संस्थागत विद्यालय भने आजसमेत सञ्चालनमा रहेका छन् ।

यसअघि लामो समयदेखि अवरुद्ध पठनपाठन मङ्सिर २१ गतेदेखि पुनः सञ्चालन गर्ने नगर कार्यपालिकाले निर्णय गरेको थियो । विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधार र कोभिडको प्रभावलाई ध्यानमा राखी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन भएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ को व्यवस्थाबमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरेको थियो ।

शुक्लाफाँटामा हालसम्म १२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये नौजना मात्रै सक्रिय सङ्क्रमित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये दुई जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । बुधबार मात्रै कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ५२ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरीसेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको छ । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.