बालिका हत्या आरोपमा युवती पक्राउ

सांकेतिक तस्विर

रसुवा । जिल्ला प्रहरी कार्यालय रसुवाले बालिकाको हत्या गरेको आरोपमा युवतीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका-५ की १९ वर्षकी सपना तामाङ रहेकी प्रहरीले जनाएकाे छ ।

रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ कि ६ वर्षीया बालिका सुमिना तामाङको अपहरण गरेर हत्या गरेको आरोप तामाङमाथि लागेको छ ।

गत आइतबारदेखि हराइरहेकी बालिकाको हिजो दिउँसो शव भेटिएको थियो । आइतबार बिहान विद्यालय गएकी बालिका बेलुकीसम्म घर नफर्किएपछि परिवारले खोजी गरेकाे थिए ।

परिचय खुल्न नसकेका एकजना महिलाले बालिकालाई लगेको हल्ला फैलिएपछि बालिकाको परिवारले अस्थायी प्रहरीचौकी ग्राङमा उजुरी दिएका थिए ।

तामाङले बालिकालाई अपहरण गरेर हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेकाे छ । यसबारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

Facebook Comments