दूर्लभ वन्यजन्तु सालकको खपटासहित एक पुरुष पक्राउ

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सालकको खपटासहित एकजना पुरुषलाई पक्राउ गरेको छ । साथै उनकाे साथबाट एक थान लोपोन्मुख मृत चरा पनि भेटिएकाे प्रहरीले जनाएकाे छ।

पक्राउ पर्नेमा भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका-१ का ईच्छाकुमार राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक शिव कट्टेलका अनुसार नियमित जाँचका क्रममा शंका लागेर राईले बोकेको झोला खानतलासी गर्दा उनको साथबाट १ किलो ५७० ग्राम सालकको खपटा र हरियो रंगको कार्वनभित्र बेरेर राखिएको मृत खैरो कालो रंगको लोपोन्मुख चरा १ थान फेला परेको हाे ।

जिल्ला प्रवेश गर्ने मुख्य नाका हर्कपुरस्थित माझीगाउँबाट उनलाई नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ । नियन्त्रणमा लिए लगत्तै उनलाई बरामद सामानसहित डिभिजन वन कार्यलय ओखलढुंगाको जिम्मा लगाइएको प्रहरी निरीक्षक कट्टेलको भनाई छ ।

Facebook Comments