कैदी फरार प्रकरण : दुई प्रहरी निलम्बित

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कैदीलाई भगाउन सहयाेग गरेकाे आराेपमा दुई प्रहरीलाई निलम्बन गरेकाे छ ।

जिल्ला कारागार भरतपुरबाट यही मङ्सिर ११ गते साँझ ५:३० बजे सुरक्षाकर्मीले काम परिवर्तन गर्ने समयमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए ।

कारागार सुरक्षामा खटिएका ती प्रहरीकाे असावधानीले कैदी फरार भएकाे भन्दै उनहरूलाई निलम्बन गरिएकाे हाे । निलम्बित हुनेमा प्रहरी जवानद्वय अञ्जन कार्की र सुरेश लामा छन् । उनीहरुलाई गत आइतबार नै निलम्बन गरिएको भए पनि प्रहरीले आज सार्वजनिक गरेको हो ।

घटनालगत्तै जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको थियो । समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको समितिले प्रतिवेदन पेश गरेसँगै उनीहरुलाई निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाइएको हो ।

Facebook Comments