रामचन्द्र पौडेलद्वारा बुल्दीखोला मोटरेबल पुल उद्घाटन

काठमाडौं । तनहुँको ब्यास नगरपालिकामा बुधबार भएकाे झडपछि रोकिएको बुल्दीखोलामा नवनिर्मित पुल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार उद्घाटन गरेका छन् ।

पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गरेका हुन् । पुल उद्घाटन कार्यक्रममा पौडेलसँगै कांग्रेसका केन्द्रिय सदस्यहरु शंकर भण्डारी, प्रदिप पौडेल, गोविन्द भट्टराइ, कांग्रेस गण्डकी प्रदेशका विपक्षी दलका नेता गणेशचन्द्र नेपाली, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले र नेता रामचन्द्र पोख्रेललगायत सहभागी छन् ।

सत्तारुढ दल नेकपाले बुधबार पुल उद्घाटनविरुद्ध प्रदर्शनसहित अबराेध गरेको थियो । बुधबार प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि पुल उद्घाटन रोकिएको थियो ।

प्रहरीले पौडेललाई नियनत्रणमा लिएर साँझमात्रै छाडेको थियो । पौडेलले रिहा भएलगत्तै आज पुल उद्घाटन गर्ने बताएका थिए ।

बुधबारको झड्पछि बिहीबार कांग्रेसले कार्यक्रम स्थलमा उल्लेख्यमात्रामा कार्यकर्ता उपस्थित गराएको थियो भने सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो थियो।

 स्थानीय नेता कार्यकर्ता र सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा औपचारिक रुपमै नेता पौडेलले पुलको उद्घाटन गरेका हुन्।

Facebook Comments