ट्रकको ठक्करबाट बालकको मृत्यु, राजमार्ग दुवैतर्फ ठप्प

धादिङ । त्रिभुवन राजपथ अन्तरगतकाे नागढुङ्गा-नौविसे सडकखण्ड ट्रककाे ठक्करबाट एक बालकको मृत्यु भएकाे छ ।

काठमाडौंट मुग्लिनका लागि छुटेकाे ना ६ ख ४९४७ नम्वरको ट्रकले धुनीवेशी-७ का अन्दाजी ७-८ वर्षीय रितेश तामाङलाई खानीखोला बजारमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

स्थानीय बालकको मृत्यु भएपछि चालकलाई कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग दुवैतर्फ बन्द गराएका छन्।

राजमार्गमा सय भन्दा बढी स्थानीय जम्मा भएर विरोध प्रदर्शन गरिरहेकाले खुलाउन प्रहरीले पनि सकेको छैन। घटनापछि ट्रकका चालक र सहचालक इलाका प्रहरी कार्यलय खानीखोलाको नियन्त्रणमा रहेका छन्।

डेढ घण्टा भन्दा बढी सवारी आवागमन ठप्प भएपछि राजधानी भित्रिने र बाहिरिने सवारी साधनको दुवैतर्फ लामो जाम देखिएको छ।

इलाका प्रहरी कार्यालय खानीखोलाको टोलीले पीडित पक्षहरुलाई आन्दोलन नगर्न आग्रह गरेको भएपनि स्थानीयले राजमार्ग अवरुद्ध गरिरहेका छन्।

Facebook Comments