भारतीय पत्रकार गाेस्वामीलाई जमानत गर्न उच्च अदालतद्वारा अस्वीकार

एजेन्सी । भारतको उच्च अदालत मुम्बईले आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ परेका पत्रकार अर्नब गोस्वामीलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ।

भारतको रिपब्लिक टेलिभिजनका संस्थापक समेत रहेका ४७ वर्षीय अर्नबलाई गतसाता हिरासतमा लिइएको थियो र १४ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइएको थियो।

गोस्वामीमाथि सन् २०१८ मा एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ। यो मुद्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो।

अर्नबले भने आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आएका छन्। उच्च अदालतले सोमबार आफ्नो फैसला सुनाउँदै यो निर्णयविरुद्ध अर्नबले चाहेको खण्डमा अबको चार दिनमा उनी फैसलाविरुद्ध न्यायालयमा जान सक्ने बताएको छ।

उनलाई अलिबागस्थित क्वारेन्टाइनमा राखिएकाे थियाे। तर उक्त क्वारेन्टाइनमा आफूलाई निर्ममतापूर्वक पिटिएको र कसैलाई भेट्न नदिएको बताएपछि स्थानान्तरण गरिएकाे हाे।

त्यस्तै आइतबार साँझ पनि उनले प्रहरी भ्यानभित्रबाट चिच्याउँदै प्रहरीले आफूलाई कुटपिट गरेको र आफ्ना वकिलसँग पनि कुरा गर्न नदिएको आरोप लगाएका थिए।

यता अर्नबको बचाउमा भारतको केन्द्र सरकार, भारतीय जनता पार्टी अघि आएको छ। उनीहरुले महाराष्ट्र सरकारले अर्नबलाई पक्राउ गरेर प्रेस स्वतन्त्रताको उपहास गरेको र ‘इमर्जेन्सी’ को परिस्थिति सिर्जना गरेको आरोप लगाएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.