२० वर्षे युवतीको निर्देशनमा पत्रकारको १३ तोला सुन र नगद चोरी

सिन्धुपाल्चोक- कोठामा बस्दै आएकी एक २० वर्षिया किशोरीको निर्देशनमा घरबेटीको सुन र नगदलगायत धनमाल चोरी गर्ने गिरोह पक्राउ परेको छ। नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवन श्रेष्ठको घर फोडेर धनमाल चोरी गर्ने चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीकाअनुसार पक्राउ परेकी सुनकोशी गाउँपालिकाकी २० वर्षिया किशोरी कञ्चन पराजुलीको निर्देशनमा अन्य युवाहरूले चोरी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीले उनीसँगै सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–१० बडहरेका मनिष सुन्दास, इन्द्रावती गाउँपालिका –९ का बुद्ध तामाङ र अनिल तामाङलाई पक्राउ गरेको हो।

कञ्चन पीडित श्रेष्ठको घरमा भाडामा बस्दै आएकी थिइन् । श्रेष्ठको धनमाल चोरीमा उनकै प्रमुख भूमिका देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मनिष राजधानीमा एकै कलेजमा कञ्चनसँग अध्ययन गर्दथे ।

उनीहरूलाई काठमाण्डौमा खटिएको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक हरिवोल केसीको प्रहरी टोलीले पक्राउ गरेको हो। घरभाडामा बस्‍ने पराजुलीमाथि शंका लागेपछि चोरी भएकै दिनदेखि उनी प्रहरी नियन्त्रणमा थिइन् । उनीमाथि अनुसन्धान गरेपछि प्रहरी बाँकी तीन युवाहरू नजिक पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी राजन अधिकारीले चोरी भएकामध्ये अधिकांश सुन, चाँदीसमेत उनीहरूको साथबाट बरामद भएको जानकारी दिए । पुस १२ गते सदरमुकाम चौतारास्थित पुरानो बजारमा रहेको घरमा कोही नभएको अवस्थामा ढोका तथा दराजको ताला फुटाइ दराजभित्र राखेका सुनचाँदीका गरगहना र नगद चोरी भएको थियो । प्रहरीकाअनुसार १३ तोला सुन र नगद एक लाख रुपैयाँभन्दा बढी चोरी भएकोमा केही बरामद गरिएको हो ।

उनीहरूले श्रेष्ठको घरबाट १ थान आधा तोलाको सुनको १० गेडि मंगलसुत्र , १ थान दुई तोलाको सुनको मंगलसुत्र , १ थान दुई तोलाको हारमाला, १ थान अढाई तोलाको सिक्री र लकेट, १ थान आधा तोलाको लकेट, १ थान सुनको दानालगायत सुनको चन्द्रमा, मुन्द्री, झुम्का, टप, औंठी, चुरासहित चाँदीका गरगहना चोरी गरी फरार भएका थिए । उनीहरूले एक लाख एक हजार रुपैयाँ नगदसमेत चोरी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.