कैलालीमा ओली समूहमै फुट, चुनावी मैदानमा लेखराज भट्ट र भीम रावलका गुट

नेकपा एमाले कैलालीको अधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्न नसक्दा नेतृत्व चयनका लागि सोमबार धनगढीमा मतदान भइरहेको छ।

निर्वाचनमा जाँदा नेकपा एमाले कैलाली दुई धारमा विभाजित भएको छ। सुदूरपश्चिमको प्रदेश राजधानीसमेत रहेको कैलालीमा एमालेको संस्थापन (ओली) समूहमा नै विभाजन देखा परेको छ।

एमाले कैलालीका वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द नेतृत्वको लागि प्यानलसहित चुनावी मैदानमा छन्। थापा र चन्द दुवै ओली समूहकै हुन्। तर, अधिवेशनको रापले अहिले थापा र चन्द दुवै एकअर्काका प्रतिस्पर्धी बनेका छन्।

ओली निकट चन्द अहिले नेता भीम रावल पक्षमा लागेको नेताहरु बताउँछन्। अध्यक्षमा चन्दलाई रावलको समर्थन छ।

‘चुनावले गर्दा अहिले पार्टीमा ध्रुवीकरण देखा परेको छ। अध्यक्ष ओली कमरेड निकट नेताहरु रावलसँग मिलेर चुनावमा गएका छन्’ एमाले कैलालीका एक नेताले भने, ‘हामीले चुनावमा गए पनि प्यानल नबनाउने भनेका थियौँ। तर त्यसो हुन सकेन।’

पार्टीमा देखिएको ध्रुवीकरणलाई नयाँ आउने नेतृत्वले मिलाएर लैजानु पर्नेमा उनले जोड दिए। ती नेताका अनुसार एमाले कैलालीको अधिवेशनको रापले देखिएको ध्रुवीकरणमा अहिले भीम रावल र ओली निकट मानिने कैलाली इन्चार्ज नारदमुनि रानाबीच गठबन्धन बनेको छ।

उनीहरुले रणबहादुर चन्दको नेतृत्वमा प्यानल खडा गरेर चुनावमा गएका हुन्।

अध्यक्षका आकांक्षी रहेका ओली निकटकै अर्का नेता डेजी पाण्डेले पनि चन्दलाई समर्थन गरेका छन्। उनले अध्यक्षमा पछाडि हटेर चन्द प्यानलबाट सचिवमा उम्मेदवारी दिएका छन्।

कैलालीमा रावलको समर्थन रहेको प्यानल विरुद्ध सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापाको प्यानल चुनावी मैदानमा छ। उनीहरुले वर्तमान अध्यक्ष तथा प्रदेश सांसदसमेत रहेका रतन थापालाई समर्थन गरेको नेताहरु बताउँछन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.