कविता वाचन र नाटक प्रस्तुतीसँगै भारतीय दूतावासले मनायो विश्व हिन्दी दिवस

नेपालस्थित भारतीय दूतावासले विश्व हिन्दी दिवस मनाएको छ । शुक्रवार लैनचौरस्थित दूतावास परिसरमा विश्व हिन्दी दिवसको आयोजना गरिएको हो ।

यस अवसरमा नेपालका सांसद सदस्य तथा हिन्दी मञ्च नेपालका अध्यक्ष मंगलप्रसाद गुप्ता, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, नेपाल संगीत तथा नाटक प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, भारतीय दूतावास काठमाडौंकी काउन्सिलर गीताञ्जली ब्रान्डन र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।​

ब्रान्डनले विश्व हिन्दी दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएकी थिइन् ।

उनले विश्व हिन्दी दिवसले हिन्दी बोल्नेहरूको समृद्ध भाषिक सम्पदा र सांस्कृतिक पहिचानलाई सम्झाउने उल्लेख गरिन् ।

उनले हिन्दी भाषाको प्रचार-प्रसारका माध्यमबाट नेपाल र भारतबीचको मित्रताको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेहरूप्रति हार्दिक आभार व्यक्त गरिन् ।

कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका विद्यार्थीहरूले हिन्दी कविता वाचन र नाटकहरू प्रस्तुत गरेका थिए ।

यसैगरी, नेपाल प्रज्ञा प्रतिष्ठानका कलाकारहरूले समेत कार्यक्रममा प्रस्तुति दिएका थिए ।

यस अवसरमा भारत-नेपाल मैत्री कवि सम्मेलनको पनि आयोजना गरिएको थियो, जसमा ख्यातिप्राप्त कविहरूले हिन्दी कविता सुनाएर श्रोतालाई मोहित बनाएका थिए ।

सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा आयोजित पहिलो विश्व हिन्दी सम्मेलन थियो । त्यसपछि हरेक वर्ष जनवरी १० लाई विश्व हिन्दी दिवस विश्वव्यापी रूपमा मनाइन्छ ।