काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने अधिकांस दलले प्रधानमन्त्रीलाई नैतिक हुन आग्रह गर्दै राजीनामा दिएर संसदीय प्रक्रियामा प्रवेश गर्न माग गरेका छन् ।
ताजा जनादेश राजनीतिक निकासको माध्यम भन्दै प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्रीको बुझाइ गलत सावित भइसकेकाले उनले नैतिक रुपमा राजीनामा दिएर संसदलाई निकासको बाटो खोलिदिनुपर्ने संसदमा प्रतिनिधित्व गर्ने दलहरुको निष्कर्ष छ ।
प्रधानमन्त्रीको कदम ठिक थियो तर, ताजा जनादेशमा जाने निर्णय सेटिङका आधारमा अदालतबाट उल्ट्याइएको बताएर प्रधानमन्त्रीलाई समर्थन जनाउने प्रेम सुवाल एक्ला समर्थक थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधनमन्त्रीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्चबाट पुनःस्थापित भएपछि नैतिकता देखाउनु पर्दैन ? भन्दै प्रश्न उठाएको छ ।
उसले प्रधानमन्त्री राजनीतिक रुपमै फेल भइसकेको र संविधान कार्यान्वयन गर्नुपर्नेमा एकपछि अर्को संविधान विरोधी कदम उठाएको भन्दै अब संविधान कार्यान्वयका लागि बाटो खोलिदिनुपर्ने उसको सुझाव थियो ।