रोकियो कोरोनाविरुद्धको नियमित खोप अभियान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो प्राथमिकतामा परेकाहरुका लागि २० दिनका लागि संचालन गरेको कोरोनाविरुद्धको खोप अभियान रोकिएको छ। मन्त्रालयले गत फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउन सुरु गरेपनि खोप अभियानको १० दिनपछि स्थगित भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङ मार्फत फागुन २३ गतेबाट सञ्चालन गरिएको दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान चैत ३ गतेदेखि सकिएको जानकारी दिए।

दोस्रो प्राथमिकतामा परेकाहरुलाई गत फागुन २३ गतेदेखि खोप अभियान संचालन गर्दा स्वास्थ्य मन्त्रालयले नै सो अभियान दुई चरणमा हुने र पहिलो १० दिनसम्म ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना अनुसार खोप अभियान सुरु गरेको थियो।

यस्तै खोप अभियानको १० दिन पछि अर्थात चैत ४ गतेदेखि ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिलाई खोप लगाउने घोषणा गरेको थियो।

तर, सरकारले खरिद गरेको तथा कोभ्याक्स फ्यासिलिटी मार्फत नेपाल आउने भनेको खोप समयमा नआएपछि दोस्रो चरणको खोप अभियान स्थगित भएको छ।

सरकारले ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई आज (बुधबार)देखि खोप अभियान संचालन गर्ने तय गरेपनि अन्तिममा खोप नै उपलब्ध नभएपछि अभियान रोकिएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले ५५ देखि ६४ वर्षसम्मका नागरिकलाई खोपको पहिलो मात्रा दिने सूचना पछि प्रकाशन गरिने जानकारी दिए।

‘दोस्रो प्राथमिकतामा परेका ५५ देखि ६४ वर्षसम्मका नागरिकहरुलाई पहिलो मात्रा खोप दिने सुचना खोप उपलब्ध भएपछि प्रकाशन गरिने छ’ उनले भने, ‘थप खोप प्राप्त हुनासाथ हामीले ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु गर्नेछौं।’

उनले फागुन २३ गतेदेखि चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाइसकेकाहरुको लागि दोस्रो मात्रा लगाउने मिति पनि स्वास्थ्य मन्त्रालयले पछि नै सूचना दिने बताए।

तर पहिलो प्राथमिकतामा परी माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा खोपको पहिलो डोज लगाइसकेका व्यक्तिकहरुका लागि भने वैशाख ७ गतेदेखि ११ गतेसम्म खोपको दोस्रो मात्रा दिइने डा गौतमको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै दैनिक संचालन गर्दै आएको प्रेस ब्रिफिङ समेत बिहीबारदेखि हप्ताको दुई दिनमा मात्र सिमित गरिने पनि डा गौतमले बताए।

उनले हरेक हप्ता आइतबार र बुधबार मात्र प्रेस ब्रिफिङ संचालन गर्ने जानकारी दिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.