सरकारको भन्याे – ओलीको अभिव्यक्ति भ्रमपूर्ण, विश्वविद्यालय खोल्ने निर्णय भएको छैन

काठमाडौं । नेपाल सरकारले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई लक्षित गरी भारतको सहयोगमा मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न लागिएको भन्दै शनिबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएकाे छ ।

सरकारकी प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विज्ञप्ति जारी गर्दै मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय भएकाे बताएकी हुन् ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि भारतीय दूतावासमा पत्र लेखेको जानकारी सार्वजनिक भएको र उक्त विषयमा के कसो भएको हो भन्ने छानबिन गरिने पनि सरकारले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ । नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी अभिव्यक्ति आएको भन्दै सरकारले दुःख व्यक्त गरेको छ ।