ललिता निवास प्रकरणमा सफाइ पाएपछि पूर्वमन्त्री जोशीले दिए धन्यवाद, भन्छन् – सम्मान महसुस गरेको छु

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका पूर्व मन्त्री चन्द्रदेव जोशीले ६० वर्ष लामो राजनीतिक जीवनप्रति सम्मान भएको महसुस गरेको बताएका छन् ।

शुक्रबार पूर्व मन्त्री जोशीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘विशेष अदालतको हिजोको फैसलाबाट आफूले न्याय पाएको अनुभूति गरेको छु। निष्ठा र इमान्दारीपूर्वक निभएको ६० वर्ष लामो राजनीतिक जीवनप्रति पनि सम्मान पाएको महसुस गरेको छु। विशेष अदालत र सबै न्यायमूर्तिहरूलाई पनि धन्यवाद व्यक्त गर्दछु ।’

उनले जीवनको उत्तरार्द्धमा आएर लागेको भ्रष्टाचारको यो मिथ्या आरोप सहन निकै मुस्किल भएको बताए । ‘सम्पूर्ण जीवन, सिद्धान्त र इमान्दारीको राजनीति गर्दै आएको हुँ र गरी नै रहने छु। राजनीतिक जीवन होस् वा इन्जिनियरका रूपमा पेशागत जीवन, कुनै पनि क्षेत्रमा इमान्दारी र सादगीपनलाई नै आफ्नो मूल मान्यता मानेर काम गरेको हुँ,’ उनले भने, ‘तर जीवनको उत्तरार्द्धमा आएर लागेको भ्रष्टाचारको यो मिथ्या आरोप सहन निकै मुस्किल थियो।‘

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चार वर्षअघि उनलाई बालुवाटारको सरकारी जग्गा (ललिता निवासको जग्गा) व्यक्तिका नाममा पुर्याउन भूमिका खेलेको भन्दै भ्रष्टाचार मुद्दा लगाएको थियो ।

अख्तियारले उनीविरूद्ध ७ करोड ८ लाख ४८ हजार भ्रष्टाचार गरेको अभियोगमा ११ देखि १३ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेको थियो । बिहीबार विशेष अदालतले भने उनलाई उक्त अभियोगबाट सफाइ दिएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.